काठमाडौं– गण्डकी प्रदेश मुकाम कास्कीको पोखरामा आइतबार बिहान १० बजे भएको यती एअरको बिहान दुर्घटनामा परी मृत्यु हुने ६८ जनाको पोस्टमार्टमको तयारी थालिएको छ। विमान दुर्घटनापछि गरिएको खोजतलासका क्रममा शव भेटिएकाको पोस्टमार्टम प्रक्रिया सुरु गरिएको नेपाली सेनाले जनाएको छ।
जहाजमा सवार चार जनाको शव अझै नभेटिएको र सेती नदिमा बगेको हुन सक्ने आशंकामा पानीमा खोजी थालिएको पश्चिम पृतनाका पृतनापति उपरथी दीपककुमार बानियाँले बताए।
विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिम अञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। पोस्टमार्टमपछि मात्रै आफन्तलाई शव जिम्मा लगाइनेछ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड र सरकारी अनुमतिबाट मात्र पोस्टमार्टम गर्नुपर्ने भएकाले केही समय ढिलाइ भएको कास्की प्रशासनले बताएको छ। यतिबेला अस्पताल परिसरमा विमान दुर्घटनामा परी मृत्यु भएका आफन्त भेला भएका छन्।