काठमाडौं- पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एअरलाइन्सको विमानमा सवार ६४ जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार २९ जनाको शव विमान खसेको खोँचबाट निकालेर अस्पताल पठाइएको छ।
एअरलाइन्सका अनुसार विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए। विमान बिहान १०:५० बजे अन्तिम पटक सम्पर्कमा आएको प्राधिकरणले जनाएको छ। खोजी तथा उद्धारकार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू परिचालित भएका छन्।