शनिबार, साउन ११, २०८२

पोखरा विमान दुर्घटना : के-के भयो ६ घण्टामा?

चालक दलका चार सदस्य र ६८ जना यात्रु सवार विमान दुर्घटनाको खबरले सिंगै देश शोकमग्न बनेको छ। साँझ ५ बजेसम्मको अपडेटअनुसार ६९ जनाको दुर्घटनास्थलबाट निकालि सकिएको कास्की प्रहरीले बताएको छ।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं- आज आइतबार देशभर माघे संक्रान्ति मनाइँदै थियो। कतैकतै माघी पनि भनिने यो चाड देशभर नै मनाइन्छ। सरकारले चाड मनाउन भनेर सार्वजनिक बिदा पनि दिएको थियो। 

थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर मनाउँछन्। 

चाडको रौनककै बीच बिहान ११ बजेतिर एउटा दुखद् खबर फैलियो विमान दुर्घटनाको। बिहान साढे १० बजे काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलायन्सको विमान दुर्घटना भएको पुष्टि केहीबेरमै भइहाल्यो। चालक दलका चार सदस्य र ६८ जना  यात्रु सवार विमान दुर्घटनाको खबरले सिंगै देश शोकमग्न बनेको छ।

साँझ ५ बजेसम्मको अपडेटअनुसार ६९ जनाको दुर्घटनास्थलबाट निकालि सकिएको कास्की प्रहरीले बताएको छ। दुर्घटनामा मृत्यु हुनेमध्ये ११ जनाको सनाखत भएको छ। सनाखत हुनेमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सोना दिवाकर, रियान पौडेल (१० महिना), सदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्ध पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ र कोरियन नागरिक यु क्याङहुल छन्। 

यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए। शवहरू अस्पताल लगिएसँगै दिवंगत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ। अस्पताल परिसरमा दिवंगत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन्। शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ। यात्रुको खोजी र उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र विमानस्थलस्थित रेस्क्यु एण्ड फायर फायरिङ टिम परिचालित भएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरण खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार यती एयरलाइन्सको नाइन एन एएनसी जहाज बिहान १०:५० बजे सेती खोंचबाट अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क भएको थियो। जहाज बिहान १०:३२ बजे काठमाडौंबाट पोखराका लागि उडेको थियो।

जहाजले पोखरा टावरसँग १०:५० मा सेती खोच भन्ने स्थानबाट सम्पर्कमा आएको र सो पछि उक्त विमान दुर्घटना भएको केन्द्रको विज्ञप्तिमा उल्लेख छ। विमानमा चालक दलका सदस्यहरू कमल केसी, अञ्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर थिए।

जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए। विमानमा ३ जना बालबालिकासमेत थिए ।

विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो देखिएको थियो। दमकलले निभाउने प्रयास गर्दा पनि नसकेपछि विमान जलेर नष्ट भयो।

घटनास्थलमा उद्धारका लागि दुईवटा हेलिकोप्टर परिचालन गरिएको थियो। काठमाडौं र पोखराबाट थप उद्धारका लागि हेलिकोप्टरहरु तैनाथ गरिएका थिए। दिनभर नै खोजी र उद्धार जारी रह्यो। विमान दुर्घटनास्थलमा स्थानीयबासीको भीड लागेको देखिन्थ्यो । तर, आगो लागेको ठाउँमा उद्धार गर्न सक्ने अवस्था थिएन।

तेस्रो उडानमा दुर्घटना
पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको जहाजले काठमाडौं-पोखरा रुटमा आइतबार बिहानै तीनचोटि उडान गरेको थियो। आइतबार जहाजले काठमाडौंबाट पोखरा पहिलो उडान गरेको थियो। त्यसपछि उक्त जहाज पोखराबाट फेरि काठमाडौं आएको थियो।

त्यसपछि पुन: पोखराका लागि उडेकोमा विमानस्थलनजिकै सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको हो। 

आकाशमै अस्वाभाविक रुपमा कोल्टिएको थियो
विमान स्थानीयबासीले हेर्दाहेर्दै सेतीको खोंचमा खसेको थियो। पोखराको घारीपाटन नजिकै सेती नदीको खोंचमा खस्नुअघि आकाशमै कोल्टिएको देखिएको छ। एक स्थानीयले खिचेको जहाज कोल्टिएको छोटो भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल छ। दृश्यमा केही परबाट आइरहेको उक्त जहाज एयरपोर्टतर्फ अघि बढ्दै गर्दा फाइटर जेटजस्तै कोल्टिएको देख्न सकिन्छ।

अचानक कोल्टिँदै अघि बढेको जहाज केही सेकेन्डमै ठूलो आवाजसहित भुइँमा बजारिएको सुन्न सकिन्छ। 

अवतरणको अनुमति लिइसकेको थियो

विमानले पोखरामा अवतरण अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज बिहान १०:३२ बजे काठमाडौं विमानस्थलबाट उडान भरेको विमानले दुर्घटनाअघि अवतरण अनुमति लिएको जानकारी दिएका हुन्। 'मौसमको समस्या थिएन। विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। विमानमा अकासमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ,' उनले भने।

'मौसम ठीक थियो, मापदण्ड पूरा गरेरै उडान गरिएको हो'
दुर्घटनाग्रस्त भएको विमानले मापदण्ड पूरा गरेरै उडान भरेको र मौसम पनि ठीक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा स्थापना गरिएको रेस्क्यु कोअर्डिनेसन सेन्टरमा पुगेर अवस्थाको जानकारी लिएपछि महानिर्देशक ठाकुरले पत्रकार सम्मेलन गरेर सो जानकारी दिएका हुन्।

उनले भने, 'मौसम खराब थियो भन्न सकिँदैन। पोखरा टावरको भनाइअनुसार बिहानैदेखि मौसम राम्रो छ। त्यसैले मौसमलाई दोष दिन मिल्दैन। हाम्रो हरेक एयरपोर्टको मापदण्ड हुन्छ। यति भिजिबिलिटी भयो भने आईएफआर खोल्ने र यति भिजिबिलिटी भयो भने भीएफआर फ्लाइट खोल्ने भन्ने मापदण्ड हुन्छ। त्यो मापदण्ड पूरा नगरी एयरपोर्ट खुल्दैन। पोखरा एयरपोर्ट मापदण्ड पूरा गरेर बिहानदेखि खुला छ, फ्लाइट भइरहेको छ।'

मन्त्रिपरिषद्‍को आकस्मिक बैठक

विमान दुर्घटनाको खबर पाउनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा पुगेर घटनाबारे जानकारी लिनुका साथै तत्काल उद्धारमा खटिन निर्देशन दिएका थिए। विमान घुर्टटनालगत्तै दिउँसो साढे १ बजेका लागि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको थियो।

बैठकले विमान दुर्घटनाको शोकमा एक दिन सार्वजनिक बिदा दिने, छानबिन समिति बनाउने, सबै विमानको प्राविधिक परीक्षण गराउने, प्रधानमन्त्री र गृहमन्त्रीलाई घटनास्थल पठाउने निर्णय गर्‍यो। तर भीआईपी सवारीले उद्वारमा समस्या आउन सक्ने भएकाले प्रधानमन्त्रीको पोखरा जाने कार्यक्रम स्थगित भयो। बालुवाटार पुगिसकेको हेलिकप्टर त्यसै फर्कियो।

यसअघि प्रधानमन्त्री र गृहमन्त्रीले त्रिभुवन विमानस्थल पुगेर उद्धारको जानकारी लिएका थिए। भीआईपी गएर कर्मचारीलाई काममा 'डिस्टर्ब' भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो। सार्वजनिक बिदाको विषयमा पनि सामाजिक सञ्जाल तातिएको छ। नागरिकको मृत्युमा सरकार संवेदनशील हुनु राम्रो भए पनि बिदा नै दिनु उपयुक्त नहुने भन्दै सामाजिक सञ्जालमा बिदाको विरोध भइरहेको छ।

मन्त्रिपरिषद् बैठकले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ। पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहेको समितिमा हवाई उडानविज्ञ दीपकप्रसाद बाँस्तोला, अवकाश प्राप्त क्याप्टेन तथा हवाई विज्ञ सुनिल थापा र हवाई मेन्टेनेन्स क्षेत्रका इन्जिनियर टेकराजजंग थापा सदस्य रहेका छन्। समितिको सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसिचव बुद्धिसागर लामिछाने छन्। समितिलाई प्रतिवेदन तयार पार्न ४५ दिनको समय दिइएको छ।

को-को थिए यात्रु? 

दुर्घटना भएको विमानमा नेपाली यात्रुहरु किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ थिए।

साथै, स्लोक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्कि गुरुङ, शिवकुमार गुरुङ, सिता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सञ्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले पनि विमानमा सवार थिए।

त्यसैगरी उक्त विमानमा सीताकुमारी खड्का, अनिलकुमार राजभार, भगवती कुँवर, अविशेक कुश्वाह, ओममाया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, लक्ष्मी परियार, रिता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पोजन राना, सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगिता शाही, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा. शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चुर्ण थापा, गणेश थापा र लवराज तिमिल्सिना सवार थिए।

विमानमा सवार विदेशी नागरिकमा मेरोल लभ, आयूरी ल्यागीन, भिक्टर ल्यागीन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बण्डुरो,  रुअनकालुम क्रिघ्टोन, एलेक्जेण्डर आइरिडोरे थिए।

साथै शिशुहरुमा कृष परियार, प्रसिद्धी पौडेल, आयुर्दि शर्मा, बेबी शर्मा थिए भने बाँकी दुईजना शिशुको नाम खुलेको छैन।

उडान स्थगन र आक्रोश

विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटना भएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए। 

यता पोखरामा दुर्घटना भएको विमानमा सवार यात्रुका आफन्त आक्रोशित भएका छन्। दुर्घटना भएको खबर पाएपछि त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका यात्रुका आफन्त आक्रोशित बनेका हुन्।

दुर्घटनामा परेका आफन्तको अवस्था बुझ्न पोखरा जान नपाएपछि उनीहरु रिसाएका हुन्।  विमान दुर्घटना भएपछि त्रिभुवन विमानस्थलबाट पोखराको सम्पूर्ण उडान स्थागित गरिएको छ। सुरक्षा चुनौती बढेपछि विमानस्थल परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

दुर्घटनाग्रस्त विमान
आन्तरिक उडानमा अहिलेसम्मकै ठूलो दुर्घटना

पोखरामा आज भएको यती एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो हो। यसअघि भएका विभिन्न हवाई दुर्घटनामा सयौं मानिसले ज्यान गुमाइसकेका छन्। 

आज दुर्घटनामा परेको विमानमा चालक दलका सदस्य ४ र ६८ जना यात्रु सवार थिए। उनीहरु सबैको मृत्यु भएको अनुमान छ। सबैको मृत्यु पुष्टि भए नेपालको आन्तरिक उडानमा यो संख्या अहिलेसम्मकै ठूलो हुनेछ।

पछिल्लो पटक १५ जेठ २०७९ मा तारा एयरको जहाज दुर्घटनामा परेको थियो। सो दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको निधन भएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आइतबार भएको दुर्घटना ५८औं हो।

यसअघि नेपालमा ५७ वटा विमान दुर्घटनामा परिसकेका छन्, जसमध्ये दुई वटा इन्जिन भएका जहाज ४९ वटा छन्। ८ वटा जहाज सिंगल थिए। आन्तरिक उडानतर्फ पहिलो दुर्घटना २०१८ सालमा भएको थियो। भैरहवामा भएको ९-एन एएडी जहाज दुर्घटनामा ४ जना यात्रुले ज्यान गुमाएका थिए।

एटीआर जहाजलाई नेपालमा सबैभन्दा सुरक्षित मानिन्छ। अहिलेसम्म नेपालमा कुनै पनि एटीआर विमान दुर्घटना नभएको जानकारहरु बताउँछन्। नेपालमा बुद्ध एयरसँग सबैभन्दा धेरै १४ वटा र यती एयरलाइन्ससँग ६ वटा एटीआर जहाज छन्। यो एटीआर ७२-५०० मोडलको विमान थियो। प्राधिकरणका अनुसार आजको घटनाअघि नै नेपालको आन्तरिक उडानमा भएका दुर्घटनामा ३६३ जना यात्रुको मृत्यु भएको छ। दुर्घटनाग्रस्त विमानमा सवार १३९ जना यात्रुको भने जीवितै उद्धार भएको छ।

सबैभन्दा धेरै यात्रुको मृत्यु भने सन् २००० मा भएको जहाज दुर्घटनामा भएको थियो। डडेलधुराको जोगबुढामा भएको त्यो दुर्घटनामा २५ जना यात्रुको मृत्यु भएको थियो। 

प्रकाशित: Jan 15, 2023| 17:08 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।