काठमाडौं- पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन भएको छ। आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो।
पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहेको समितिमा हवाई उडानविज्ञ दीपकप्रसाद बाँस्तोला, अवकाश प्राप्त क्याप्टेन तथा हवाई विज्ञ सुनिल थापा र हवाई मेन्टेनेन्स क्षेत्रका इन्जिनियर टेकराजजंग थापा सदस्य रहेका छन्। समितिको सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसिचव बुद्धिसागर लामिछाने छन्। समितिलाई प्रतिवेदन तयार पार्न ४५ दिनको समय दिइएको छ।
विमान दुर्घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिरिषद् बैठक डाकेका थिए भने गृहमन्त्रीलाई लिएर त्रिभुवन विमानस्थल पुगेका थिए।
मन्त्रिपरिषद् बैठक सकेर प्रधानमन्त्री दाहाल पोखरा प्रस्थान गरेका छन्। उनीसँगै गृहमन्त्री रवि लामिछाने पनि पोखरा गएका छन्।
विमान दुर्घटनापछि खोज तथा उद्धार कार्य जारी छ। अहिलेसम्म ४० जनाको शव निकालि सकिएको र मृतकको संख्या बढ्न सक्ने अनुमान छ।