शनिबार, साउन ११, २०८२

माघे संक्रान्तिको रौनकबीच शोकमा देश

चाडको रौनककै बीच बिहान ११ बजेतिर एउटा दुखद् खबर फैलियो विमान दुर्घटनाको। बिहान साढे १० बजे काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलायन्सको विमान दुर्घटना भएको पुष्टि केहीबेरमै भइहाल्यो।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं- आज आइतबार देशभर माघे संक्रान्ति मनाइँदै थियो। कतैकतै माघी पनि भनिने यो चाड देशभर नै मनाइन्छ। सरकारले चाड मनाउन भनेर सार्वजनिक बिदा पनि दिएको छ। 

थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर मनाउँछन्। 

चाडको रौनककै बीच बिहान ११ बजेतिर एउटा दुखद् खबर फैलियो विमान दुर्घटनाको। बिहान साढे १० बजे काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलायन्सको विमान दुर्घटना भएको पुष्टि केहीबेरमै भइहाल्यो। चालक दलका चार सदस्य र ६८ जना  यात्रु सवार विमान दुर्घटनाको खबरले सिंगै देश शोकमग्न बनेको छ। दिउँसो २ बजेसम्मको अपडेटअनुसार ४० भन्दा बढी शव दुर्घटनास्थलबाट निकालिसकिएको कास्की प्रहरीले बताएको छ। तीनै सुरक्षा निकाय उद्धारमा खटिएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ। यात्रुको खोजी र उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र विमानस्थलस्थित रेस्क्यु एण्ड फायर फायरिङ टिम परिचालित भएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरण खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार यती एयरलाइन्सको नाइन एन एएनसी जहाज बिहान १०:५० बजे सेती खोंचबाट अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क भएको थियो। जहाज बिहान १०:३२ बजे काठमाडौंबाट पोखराका लागि उडेको थियो।

जहाजले पोखरा टावरसँग १०:५० मा सेती खोच भन्ने स्थानबाट सम्पर्कमा आएको र सो पछि उक्त विमान दुर्घटना भएको केन्द्रको विज्ञप्तिमा उल्लेख छ। विमानमा चालक दलका सदस्यहरू कमल केसी, अञ्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर थिए।

जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए। विमानमा ३ जना बालबालिकासमेत थिए ।

विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो देखिएको थियो। दमकलले निभाउने प्रयास गर्दा पनि नसकेपछि विमान जलेर नष्ट भयो।

घटनास्थलमा उद्धारका लागि दुईवटा हेलिकोप्टर परिचालन गरिएको थियो। काठमाडौं र पोखराबाट थप उद्धारका लागि हेलिकोप्टरहरु तैनाथ गरिएका थिए। दिनभर नै खोजी र उद्धार जारी रह्यो। विमान दुर्घटनास्थलमा स्थानीयबासीको भीड लागेको देखिन्थ्यो । तर, आगो लागेको ठाउँमा उद्धार गर्न सक्ने अवस्था थिएन।

विमान दुर्घटनाको खबर पाउनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा पुगेर घटनाबारे जानकारी लिनुका साथै तत्काल उद्धारमा खटिन निर्देशन दिएका थिए। विमान घुर्टटनालगत्तै दिउँसो साढे १ बजेका लागि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको थियो।

यती एयरलाइन्सका अनुसार दुर्घटना भएको विमानमा नेपाली यात्रुहरु किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ थिए।

साथै, स्लोक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्कि गुरुङ, शिवकुमार गुरुङ, सिता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सञ्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले पनि विमानमा सवार थिए।

त्यसैगरी उक्त विमानमा सीताकुमारी खड्का, अनिलकुमार राजभार, भगवती कुँवर, अविशेक कुश्वाह, ओममाया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, लक्ष्मी परियार, रिता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पोजन राना, सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगिता शाही, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा. शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चुर्ण थापा, गणेश थापा र लवराज तिमिल्सिना सवार थिए।

विमानमा सवार विदेशी नागरिकमा मेरोल लभ, आयूरी ल्यागीन, भिक्टर ल्यागीन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बण्डुरो,  रुअनकालुम क्रिघ्टोन, एलेक्जेण्डर आइरिडोरे थिए।

साथै शिशुहरुमा कृष परियार, प्रसिद्धी पौडेल, आयुर्दि शर्मा, बेबी शर्मा थिए भने बाँकी दुईजना शिशुको नाम खुलेको छैन।

जहाज दुर्घटनामा परेर निधन भएकाहरूप्रति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले समवेदना व्यक्त गरेका छन्। सभापति देउवाले विमान दुर्घटनामा परेका नागरिकको उद्धारलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेका छन्। उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न पनि सभापति देउवाले सुझाएका छन्।

देउवाले घटनामा परी निधन भएकाहरूप्रति  श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेका छन्। यस्तै, एमाले अध्यक्ष ओलीले प्रभावकारी उद्धारका लागि सरकारसँग आग्रह गरेका छन्।

यो खबरले अत्यन्त दुःखी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटना भएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए। 

विमानले पोखरामा अवतरण अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज बिहान १०:३२ बजे काठमाडौं विमानस्थलबाट उडान भरेको विमानले दुर्घटनाअघि अवतरण अनुमति लिएको जानकारी दिएका हुन्। 'मौसमको समस्या थिएन। विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। विमानमा अकासमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ,' उनले भने। 

यता पोखरामा दुर्घटना भएको विमानमा सवार यात्रुका आफन्त आक्रोशित भएका छन्।  दुर्घटना भएको खबर पाएपछि त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका यात्रुका आफन्त आक्रोशित बनेका हुन्।

दुर्घटनामा परेका आफन्तको अवस्था बुझ्न पोखरा जान नपाएपछि उनीहरु रिसाएका हुन्।  विमान दुर्घटना भएपछि त्रिभुवन विमानस्थलबाट पोखराको सम्पूर्ण उडान स्थागित गरिएको छ। सुरक्षा चुनौती बढेपछि विमानस्थल परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

 

प्रकाशित: Jan 15, 2023| 14:18 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।