पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरको एटीआर-७२ विमानको कलसाइन हो ९एन-एएनसी। यो विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको हो।
२२ डिसेम्बरमा पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो। सो क्रममा यतीको यसै विमानले डेमो उडान गरेको बताइएको छ। विमानका क्याप्टेन कमल केसी अनुभवी हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०:२५ मा उडेको यो विमान २५ मिनेटमा पोखरा अवतरण गर्नुपर्ने थियो।
विमान दुर्घटनाको कारण खुलेको छैन।
दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ।
अहिले शव संकलनको काम भइरहेको छ। जहाजमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए। पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको जहाजमा ठूलो आगो लागेको छ।
पोखरा १५ नयाँ गाउँमा जहाज दुर्घटनामा परेको स्थानीयले बताएका छन्।