काठमाडौं- काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज दुर्घटना भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्। दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल पुगेका छन्।
दुर्घटनास्थलमा पुगे मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी यती एयरको विमान दुर्घटनास्थल पुगेका छन्। काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएपछि उनी त्यहाँ पुगेका हुन्। एएनसी एटीआर ७२ उक्त विमान क्याप्टेन कमल केसीले उडाएका थिए।
विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेको बताइएको छ। खोंचमा दुर्घटना भएकाले उद्धारमा समेत समस्या भएको छ। दुर्घटनापछि जहाजमा आगो लागेको छ भने धुँवाको मुस्लो देखिएको छ। घटनास्थलमा उद्धारकर्मीहरुले उद्धार कार्य जारी राखेका छन्। अहिलेसम्म ३० जनाको शव निकालिएको र शव संकलन भइरहेको प्रहरीले बताएको छ।
प्रकाशित: Jan 15, 2023| 12:11 आइतबार, माघ १, २०७९