काठमाडौं– धर्नामा बसिरहेकी अभियन्ता रुवि खानलाई भेट्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने माइतीघर मण्डला पुगेका छन्। शनिबार लामिछानेले रुवि धर्ना बसिरहेको स्थान माइतीघर मण्डला पुगेर पीडितलाई न्याय दिने भरोसा दिलाएका हुन्।
बाँकेको नेपालगन्जबाट पैदल हिँडेरै काठमाडौंको माइतीघर मण्डलामा निर्मला कुर्मी हत्या प्रकरण र शारीरिक बन्धक बनाई बेपत्ता पारिएकी नन्कुन्नी धोवीको मुद्दाको प्रभावकारी अनुसन्धान हुनुपर्ने माग गर्दै खानले धर्ना बस्दै आएकी छन्।
गृहमन्त्री लामिछानेले सरकार पीडितलाई न्याय दिन प्रतिबद्ध रहेकाले धर्ना त्याग्न छाड्न आग्रह गरेको गृह मन्त्रालयले बताएको छ। यो प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पुनः अनुसन्धान गर्न लगाउने प्रतिबद्धता गृहमन्त्री लामिछानेले व्यक्त गरेका छन्।
यसअघि १ असोजमा रुविसहित १५ जना २० दिने न्याय मार्च गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन नेपालन्ञ्जदेखि काठमाडौं आएका थिए। निर्मला कुर्मीको हत्या र नन्कुन्नी धोवीलाई शारीरिक बन्धक बनाई बेपत्ता पारिएको भन्दै स्थानीय प्रशासनले सुनवाइ नगरेपछि उनीहरूले ५०० किलोमिटरको काठमाडौं न्याय मार्च गरेका थिए।