कावासोती– निर्माणाधीन पूर्व पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डमा कालोपत्रे परीक्षण सुरु गरिएको छ। आयोजनाको पूर्वी खण्डको भेडाबारीमा शुक्रबार १२० मिटर सडकमा अलकत्रा हालेर कालोपत्रे परीक्षण गरिएको आयोजनाका इन्जिनियर राकेश झाले जानकारी दिए। आयोजना सुरु भएको ४७ महिनापछि कालोपत्रेको काम सुरु भएको हो।
राजमार्गको मुख्य सडकमा पहिलोपटक परीक्षणका रुपमा सो काम सुरु भएको हो। भेडाबारी खण्डको यो क्षेत्रमा आउँदो दुई साताभित्र १ किलोमिटर पिच गरिने इन्जिनियर झाले बताए। उनका अनुसार यो सडक १० मिटरभन्दा बढी फराकिलो छ।
क्रसर उद्योगबाट नियमित रुपमा निर्माण सामग्री उपलब्ध भए आगामी असारसम्म १० किलोमिटर सडक कालोपत्रे गरिने झाले बताए। राजमार्गमा फिलिङको काम भइरहँदा क्रसर उद्योग बन्द भएका कारण काम अघि बढाउन अप्ठेरो परेको उनको भनाइ छ। उनका अनुसार ग्राभेल हालेर पुर्ने काम सकिए पनि माथिल्लो भाग सम्याउन क्रसरका विभिन्न आकारको गिट्टी आवश्यक पर्छ।
२०७५ माघमा ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी सरकार र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भएको थियो। सो अवधि गत साउनमा सकिएकाले आगामी साउनसम्मका लागि समय थपिएको हो।
२०१८ मा तत्कालीन राजा महेन्द्रले गैँडाकोटमा शिलान्यास गरेको झन्डै ६ दशकपछि पूर्व पश्चिम राजमार्गको सो खण्डको विस्तार भएको हो। एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक विस्तार भइरहेको छ। निर्माण लागतमध्ये ८५ प्रतिशत एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानी छ।