काठमाडौं– नबिल बैंकको ३८औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधारणसभाले सेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको हो।
साधारणसभाले बैंक सञ्चालक समितिको सिफारिस र राष्ट्र बैंकको स्वीकृतिअनुसार आव २०७८/७९ सम्मको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट सेयरधनीलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो। साधारणसभाले संस्थापक शेयरधनी समूहतर्फ निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिबलाई सञ्चालकमा निर्वाचित गरेको छ।
बैंकले आव २०७८÷७९ मा निजी क्षेत्रका बैंकमध्ये उच्चतम मुनाफा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ कमाएको छ। समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयरपछि बैंकको चुक्ता पुँजी २७ अर्ब नाघेको छ। बैंकका हाल २४० शाखा, २७५ एटिएम र ८ वटा रेमिट एजेन्टमार्फत बैंकिङ सेवा दिँदै आएको छ।