आइतबार, साउन १२, २०८२

कम पीडादायी छैन फोहोर उठाउनेको व्यथा

तीन वर्षदेखि बिहान ६ बजे मध्यपुरथिमि–५ राधेराधेस्थित नेप्सेम्याकको कार्यालयमा पुगेर हाजिर गरेपछि ट्र्याक्टरमा घरघरबाट फोहोर संकलन गर्न निस्कने उनको दैनिकी नै हो।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

भक्तपुर- दोलखा घर भई कमलविनायक बस्दै आएका ३१ वर्षीय भीमकुमार थामी पुसको जाडोको पर्वाह नगरी बिहान ६ बजे फोहोर संकलन गर्न पुग्छन्। 

तीन वर्षदेखि बिहान ६ बजे मध्यपुरथिमि–५ राधेराधेस्थित नेप्सेम्याकको कार्यालयमा पुगेर हाजिर गरेपछि ट्र्याक्टरमा घरघरबाट फोहोर संकलन गर्न निस्कने उनको दैनिकी नै हो। 

उनी मात्रै होइन, भक्तपुरमा फोहोर संकलनको मुख्य जिम्मेवारी निर्वाह गर्दै आएको निजी कम्पनी नेप्सेम्याकको भक्तपुर राधेरोध थिमिस्थित शाखा कार्यालयमा फोहोर संकलनमा खटिने ६९ जनाको दैनिकी यसैगरी बित्ने गर्छ। 

फोहोर संकलनमा निस्कँदा सभ्य समाजको सभ्य मानिसको असभ्य व्यवहारले भने उनीहरूको मन निकै चिमोट्ने गर्दछ। 

थामी भन्छन्, ‘बिहान उठेर कोठामा चिया खाएर खानाको पोको बोकेर अफिस आउँछौँ, खाना त्यहीँ राखेर आफ्नो क्षेत्रमा फोहोर संकलन गर्न निस्कन्छौँ। टोल बस्तीमा सिट्ठी फुक्दै जान्छौँ, घरघरका फोहोर घर बाहिर निकाल्छन्, अनि हामी टिपेर ट्र्याक्टर, ट्रकमा हालेर ल्याउँछौँ, यो हाम्रो दैनिकी नै हो।’

फोहोर संकलनमा बिहान भोकै निस्कने मजदुरहरू फोहोर व्यवस्थापन नगरेसम्म भोकै नै हुन्छन्। थामीका अनुसार फोहोर लिएर कार्यालयमा आएपछि बल्ल हातमुख धोएर घरबाट ल्याएको खाना खाने गरिन्छ। कहिले त सवारी चाप हुँदा फोहोर लिएर आइपुग्दै दिउँसो १ बज्छ, त्यतिखेरसम्म भोकै बस्नुपर्छ। यस्तो दुःख गरेर फोहोर उठाउने गरे पनि फोहोर थुपार्ने त्यहीँ समाजका मानिसले गर्ने व्यवहार देखेर भने कहिलेकाहीँ निकै दिक्क लाग्ने गरेको सुनाउँछन्।

पाँच वर्षदेखि फोहोर संकलन गर्दै आएका भोजपुर घर भई निकोसेरा बस्ने तिलकबहादुर रम्तेल फोहोर संकलन गर्दा होस् वा फोहोर बोकेर फर्कने क्रममा होस् सभ्य र शिक्षित भनिने मानिसहरूबाट असभ्य व्यवहार हुने गरेको बताउँछन्। उनी भन्छन्, ‘फोहोर बोकेर फर्केको गाडीलाई अरू निजी गाडीले बाटो दिँदैनन्, हेप्छन्। फोहोरमा काम गर्ने मानिस त मानिस नै हैन जस्तो गर्छन्, कतिले त मुखै छाडेर गाली गर्छन्। हामी सहेर काम गर्छौं, उनीहरूसँग केही बोल्दैनौँ।’ मानिसले मानिसलाई गर्ने व्यवहार किन यति फरक हुन्छ, उनको मनमा उब्जने यस्ता प्रश्नले कहिलेकाहीँ निकै चिमोट्छ उनलाई।

दश वर्षदेखि फोहोर संकलनकै काम गर्दै आएका इलाम घर भई कटुन्जे बस्ने ३९ वर्षीय जीवन राईको गुनासो पनि उस्तै छ। फोहोरमैलामा काम गर्नेहरू पनि फोहोरी हुन् भन्ने सभ्य मानिसको सोचाइ कति निकृष्ट होला, उनी दुखेसो पोख्छन्। कतिपय सभ्य मानिसले आफूहरूप्रति गर्ने असभ्य व्यवहारले दिक्क लाग्ने गरे पनि कामप्रति वितृष्णा भने नरहेको उनी बताउँछन्। कतिपय मानिसले फोहोर संकलन गर्न जाँदा खाउँला झैँ गरेर असभ्य शब्दले मुखै छाडेर गाली गर्ने गरेको उनी सुनाउँछन्। 

धरान घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जे बस्ने ३० वर्षीय राजेश गुरागाईंलाई फोहोर संकलनमा जाँदा अलि ढिला भयो भने स्थानीयको गाली सुन्नु पर्दा दिक्क लाग्ने गर्दछ। बिहान ६ बजे आ–आफ्नो तोकिएको क्षेत्रमा फोहोर संकलनका लागि जाने गर्छन्, कतिपय ठाउँको फोहोर धेरै हुँदा दोहोर्‍याएर पनि जानुपर्ने हुन्छ। कहिलेकाहीँ बञ्चरेडाँडाको समस्याले फोहोर नउठाउँदा त्यो सबै आक्रोश फोहोर संकलन गर्न जाने माथि खन्याउने र गाली गर्नेहरू धेरै हुने गरेको सुनाउँदै उनी भन्छन्, ‘फोहोर उठाउने मानिस त मानिस नै होइनन्, यी तल्लोस्तरकै हुन् भन्ने व्यवहार गर्दा कहिलेकाहीँ यो मन साह्रै दुख्छ।’

सूर्यविनायकको मनोरम प्रगति बस्तीका एक हजार घरले कुहिने र नकुहिने फोहोर छुट्याएर नमुनाको काम गरेकाले त्यहाँका प्रत्येक घरलाई वार्षिक पाँच किलो कम्पोस्ट मल निःशुल्क दिने गरेको र त्यही नमुनालाई अन्यत्र लैजाने प्रयास भइरहेको छ। संस्थाले भक्तपुरका ग्रामीण क्षेत्रका कुहिने फोहोरलाई घरघरमा र स्थानीयस्तरमा कम्पोस्ट मल बनाएर व्यवस्थापन गर्ने गरी तालिम तथा अनुदानका लागि कार्यक्रम अगाडि सारेको छ। 

ओखलढुंगा घर भई नेप्सेम्याकको कार्यालयमै बस्दै आएका ठगबहादुर दर्जी मानिसले फोहोर पनि सभ्य तरिकाले नराख्ने गरेको सुनाउँछन्। कतिपय फोहोरअगाडि फालिदिने, छरेर राखिदिने, कुहिने र नकुहिने फोहोर नछुट्याउने, फलाम, सिसासमेत एकै ठाउँमा राखिदिने गर्दा जोखिम हुने गरेको उनको भनाइ छ। ‘मानिसले घर अगाडि जथाभाबी फोहोर राखिदिँदा कतिपय ठाउँमा कुकुरले छरेको फोहोरसमेत टिप्नु पर्ने हुन्छ’, उनी भन्छन्। 

नेप्सेम्याकले फोहोर संकलन गर्नेलाई बिरामी, साप्ताहिक, सुत्केरी, किरिया बिदाका साथै सामाजिक सुरक्षा कोषमा समेत आबद्धता गराएको छ। फोहोर संकलनमा जाँदा बिरामी भए उपचार गरिदिने, बुट, पन्जा, मास्कको व्यवस्था गरेको कामदारहरू बताउँछन्। संस्थाका शाखा प्रबन्धक बाबुराम चौलागाई बेलाबेलामा आउने फोहोर फाल्ने ठाउँको समस्याले निजी कम्पनीलाई समेत मार परेको बताउँछन्। फोहोर फाल्ने ठाउँ बन्द हुँदा फोहोर संकलन गर्न जान नसकिने तर सेवाग्राहीले भने पैसा दिएपछि जस्तो अवस्थामा पनि फोहोर संकलन हुनुपर्छ भनेर व्यवहार गर्दा भने समस्या हुने उहाँ बताउँछन्। 

कुहिने र नकुहिने फोहोर छुट्याएर राखिदिए संकटका बेलामा पनि कुहिने फोहोर संकलन गरेर लैजान सकिने र नकुहिने फोहोर दुई महिनासम्म घरमै राख्न सकिने भएकाले यसका लागि पहल गरिरहेको उनी बताउँछन्। धेरै ठाउँमा सूचना जारी गरेर दुई महिनादेखि कुहिने र नकुहिने फोहोर फरक दिनमा छुट्टाछुट्टै लैजाने व्यवस्था गरिएको उनले बताए।

सम्बन्धित पालिकाले नै फोहोर विसर्जन गर्ने ठाउँको व्यवस्था गर्नुपर्ने बताउँदै उनले नगरपालिकाले जथाभाबी फोहोर फाल्नेलाई कारबाही गर्ने र सफा टोल बस्तीलाई नमुना बनाउने विभिन्न कार्यक्रमहरू ल्याउन सके फोहोर व्यवस्थापनमा सहज हुने उनको भनाइ छ। कुहिने फोहोरलाई घरमै कम्पोस्ट मल बनाएर खेतबारी, कौशीखेती, फूलको गमलामा प्रयोग गर्ने गरी स्थानीयलाई तालिम र प्रोत्साहनको कार्यक्रम ल्याउन पालिकासँग समन्वय गरिरहेको उहाँ बताउँछन्। 

सूर्यविनायकको मनोरम प्रगति बस्तीका एक हजार घरले कुहिने र नकुहिने फोहोर छुट्याएर नमुनाको काम गरेकाले त्यहाँका प्रत्येक घरलाई वार्षिक पाँच किलो कम्पोस्ट मल निःशुल्क दिने गरेको र त्यही नमुनालाई अन्यत्र लैजाने प्रयास भइरहेको छ। संस्थाले भक्तपुरका ग्रामीण क्षेत्रका कुहिने फोहोरलाई घरघरमा र स्थानीयस्तरमा कम्पोस्ट मल बनाएर व्यवस्थापन गर्ने गरी तालिम तथा अनुदानका लागि कार्यक्रम अगाडि सारेको छ। 

नेप्सेम्याकका कार्यक्रम संयोजक गोविन्दप्रसाद आचार्यले आफ्नो कम्पनीमा मात्रै फोहोर संकलनमा ६९ जना, सडक सफाइ गर्ने चार महिला र अन्य कर्मचारी १०० भन्दा बढी जनशक्ति भक्तपुरमा परिचालन गरिएको बताए। नेप्सेम्याकले सूर्यविनायक नगरपालिकामा आठ हजार ६९, चाँगुनारायण नगरपालिकामा दुई हजार नौ सय ६९, मध्यपुरथिमि नगरपालिकामा तीन हजार नौ सय २४, भक्तपुर नगरपालिकामा ४१ गरी भक्तपुर जिल्लामा मात्रै १५ हजार दुई घरबाट फोहोर संकलन गर्ने गरेको छ। 

नेप्सेम्याकले दैनिक सूर्यविनायक नपाबाट ३०, चाँगुनारायण नपाबाट २० र मध्यपुरथिमि नपाबाट २५ टन फोहोर संकलन गर्दै आएको र फोहोर संकलन गर्ने अन्य संस्थाहरूले करिब ७० टन गरी दैनिक एक सय ५० टन फोहोर भक्तपुरबाट संकलन गर्दै आएको संयोजक आचार्यले जानकारी दिए। संस्थाले १५ सय घरबाट छुटिएका कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउने गरेको र मासिक आठ टन मल उत्पादन हुने गरेको उनी बताउँछन्।

नेप्सेम्याकले फोहोर संकलनका लागि प्रतिघरबाट सङ्ख्याका आधारमा मासिक दुई सय ५० देखि चार सय ५० सम्म शुल्क लिने गरेको र कर्मचारीलाई कम्तीमा मासिक २१ हजारका दरले तलब र आठ घण्टाभन्दा बढी समय काम गरेमा थप रकम दिने गरेको छ। 

भक्तपुर नगरपालिकाले भने कुचीकार र सफाइ मजदुरलाई कर्मचारीकै रूपमा राखेर हरेक दिन बिहान सफाइ गर्ने, टोलटोलबाट कुहिने र नकहिने फोहोर फरक दिनमा संकलन गर्ने गर्दै आएको छ। संकलन भएका फोहोर व्यवस्थापन गर्दै आएको नगरपालिकाका प्रवक्ता रवीन्द्र ज्याख्वाले जानकारी दिए। त्यसो त नगरपालिकाले जापानी प्रविधिको कम्पोस्ट मल उत्पादनको काम पनि सुरू गरेको छ। 

भक्तपुरमा निजी कम्पनीका फोहोर संकलन गर्ने संस्थाहरू फूलबारीले सूर्यविनायक नपा र मध्यपुरथिमि नपाबाट ८ हजार ५००, स्वच्छ वातावरण सिर्जना केन्द्रले तीनवटै नपाबाट पाँच हजार ५००, विन्दवासिनी स्यानेटेरी प्रालिले एक हजार १००, सृजनशील सेवा प्रालिले मध्यपुरथिमिबाट ५०० र दिव्यश्वरी सहयोगी हातले मध्यपुरबाट दुई हजार घरबाट फोहोर संकलन गर्दै आएको छ। जिल्लामा निजी कम्पनी र नगरपालिकाहरूको फोहोर संकलक, कुचीकार र अन्य गरी करिब ८०० मजदुरले प्रत्यक्षरूपमा रोजगारी पाइरहेको निजी कम्पनीहरू बताउँछन्। 

मध्यपुरथिमि नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले मध्यपुरथिमिको फोहोर नेप्सेम्याकलगायतका संस्थाले संकलन गर्दै आएको र केही ठाउँमा नगरपालिका आफैँले पनि संकलन गर्ने गरेको बताउँछन्। उनका अनुसार नगरपालिकाले भने चार पुरुष र १४ महिला गरी १८ जना सफाइ मजदुर र दुई जना फोहोर संकलकलाई परिचालन गरेको छ। 

सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले भने निजी क्षेत्रलाई फोहोर व्यवस्थापनको जिम्मेवारी दिएको छ। सूर्यविनायक नपाका प्रवक्ता रवीन्द्र सापकोटाले नगरपालिका आफैँले फोहोर व्यवस्थापन गर्नेबारेमा पनि छलफल भइरहेको जानकारी दिए। चाँगुनारायण नगरपालिका पनि फोहोर व्यवस्थापनमा निजी कम्पनीकै भर परेको छ। 

त्यसैले सूर्यविनायक र चाँगुनारायणले सफाइ मजदुरको व्यवस्था गरेको छैन। चाँगुनारायण नगरपालिकाले पनि शहरी क्षेत्रमा निजी कम्पनीलाई नै फोहोर व्यवस्थापनको जिम्मा दिएको छ।

भक्तपुर नगरपालिकाले भने कुचीकार र सफाइ मजदुरलाई कर्मचारीकै रूपमा राखेर हरेक दिन बिहान सफाइ गर्ने, टोलटोलबाट कुहिने र नकहिने फोहोर फरक दिनमा संकलन गर्ने गर्दै आएको छ। संकलन भएका फोहोर व्यवस्थापन गर्दै आएको नगरपालिकाका प्रवक्ता रवीन्द्र ज्याख्वाले जानकारी दिए। त्यसो त नगरपालिकाले जापानी प्रविधिको कम्पोस्ट मल उत्पादनको काम पनि सुरू गरेको छ। 

कतिपय कुहिने फोहोरहरू संकलन गरेर नगरपालिकाले जगातीस्थित कम्पोस्ट मल उत्पादन गर्ने क्षेत्रमा लगेर मल उत्पादन गर्ने कार्य नमुनाकारूपमा भइरहेको र यसलाई विस्तार गरेर फोहोरबाट मोहर कमाउने योजनामा रहेको नगरपालिकाले बताएको छ।   -रासस

प्रकाशित: Jan 13, 2023| 22:00 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।