काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। शुक्रबार अधिकृत पोखरेलविरुद्ध १ करोड ६लाख बढी स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले पोखरेलविरुद्ध १ करोड ६ लाख ३३ हजार ३३९ रुपियाँ १२ पैसा बिगो कायम गरेर मुद्दा दायर गरेको जानकारी दिए। प्रवक्ता भण्डारीका अनुसार गैरकानुनी सम्पत्ति जफत गर्ने प्रयोजका लागि पोखरेलकी श्रीमती विमला न्यौपाने पोखरेलाई प्रतिवादी बनाइएको छ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधाराका तत्कालीन निमित्त कार्यालय प्रमुख रहँदा नै अख्तियारले पोखरेलमाथि अनुसन्धान सुरु गरेको थियो। त्यसपछि पोखरेल सरुवा भएर भूमि आयोग पुगेका थिए।
हाल आयोगमै कार्यरत रहेका बेला पोखरेलविरुद्ध गैकानुनी सम्पत्ति आर्जनको आरोपमा अख्तियारले मुद्दा दायर गरेको जानकारी प्रवक्ता भण्डारीले बताए। भण्डारीका अनुसार पोखरेल सरकारी सेवामा प्रवेश गरेको २०४६ असारदेखि १५ फागुन २०७८ को उनी र उनका परिवारका नाममा रहेको चलअचल सम्पत्तिमा आयोगले अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा चार करोड ३७ लाख ८८ हजार ४०२ रुपियाँ १० पैसा बराबरको चलअचल सम्पत्ति फेला पारेकामा ३ करोड ३१ लाख ५५ हजार ६२ रुपैयाँ १९ पैसाको मात्रै स्रोत खुलेको र स्रोत नखुलेकोलाई बिगो कायम गरी पोखरेलविरुद्ध मुद्दा दायर गरिएको छ।