आइतबार, साउन १२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • महाकाली लोकमार्ग : बजेट अभाव र प्रक्रियागत उल्झनमै बित्यो एक दशक

महाकाली लोकमार्ग : बजेट अभाव र प्रक्रियागत उल्झनमै बित्यो एक दशक

कञ्चनपुरको बह्मदेवबाट दार्चुलाको तिंकर जोड्ने महाकाली लोकमार्गको काम प्रक्रियागत उल्झनले सुस्त भएको छ।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

दोधारा चाँदनी- कञ्चनपुरको बह्मदेवबाट दार्चुलाको तिंकर जोड्ने महाकाली लोकमार्गको काम प्रक्रियागत उल्झनले सुस्त  भएको छ। नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली लोकमार्ग निर्माणका लागि वन क्षेत्रमा पर्ने रूख कटानीलगायत पक्रियामै अल्झिदा आयोजना सुरु भएको एक दशक बित्दासमेत हालसम्म जिरो प्वाइन्टको ट्र्याक पनि खुलाइएको  छैन। 

राष्ट्रिय प्राथमिकताको आयोजना भए पनि पर्याप्त बजेट र वन क्षेत्रमा पर्ने रूख कटानी समयमै हुन नसक्दा सन्तोषजनकरूपमा काम हुन नसकेको हो। विसं २०६६ देखि सुरु भएको करिडोर १२ वर्ष बितिसक्दा ३० किलोमिटर सडकमा कालोपत्र मात्रै भएको छ।

कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत चार सय १३ किलोमिटर सडक निर्माण गरिनेमा तीन सय ३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७२ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको महाकाली लोकमार्ग दार्चुला तिङ्कर सडक आयोजनाका प्रमुख लक्ष्मणदत्त जोशीले बताए।

उनले लोकमार्गको कञ्चनपुर, डडेल्धुरा र बैतडीमा ट्र्याक खोल्ने काम भइरहेको जानकारी दिए। ‘आयोजनाको शून्य विन्दु (ब्रह्मदेव क्षेत्र) बाट काम सञ्चालन हुनसकेको छैन’, प्रमुख जोशीले भने, ‘शून्यविन्दुको ११ किलोमिटर सडक वन क्षेत्रमा पर्छ त्यो क्षेत्रमा रूख कटानी आदेश नआउँदा ढिलाइ भएको हो।’

ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढा क्षेत्रसम्म १५ किलोमिटर ट्र्याक खोल्न दिवा–शनिदेव जेभीसँग गत वर्ष असारमा रु पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भए पनि रूख कटानको आदेश नहुँदा काम अघि बढ्न सकेन। लोकमार्गअन्तर्गत कञ्चनपुर क्षेत्रमा मात्रै एक हजार नौ सय ५१ रूख कटान गर्नुपर्ने छ। उक्त आयोजनाको ०८०/८१ भित्र ट्र्याक खोलिसक्नुपर्ने लक्ष्य रहे पनि हालसम्म कामको सुरुआत भएको छैन।

डडेल्धुरामा भने ११ किलोमिटरदेखि ६७ किलोमिटर सडकमा पर्ने रूख छपानको काम भइरहेको आयोजना प्रमुख जोशीले बताए। उनका अनुसार लोकमार्गअन्तर्गत बाँकी दार्चुला र बैतडीमा पनि वन क्षेत्रमा ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ। हालसम्म डडेल्धुरामा २२ किलोमिटर, बैतडीमा ७० किलोमिटर र दार्चुलामा ९४ किलोमिटर ट्र्याक खुलिसकेको उक्त आयोजनाले जनाएको छ। 

सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण आयोजना मानिए पनि सरकारको प्राथमिकतामा नपर्दा निर्माणको कामले गति लिन सकेको छैन।  आयोजनाका लागि गत वर्ष ७९ करोड ४२ लाख रकम विनियोजन भएको र चालू आवमा ४० करोड मात्रै बजेट रहेकाले बजेट पर्याप्त नहुँदा पनि काममा समस्या भइरहेको आयोजना प्रमुख जोशीले बताए। ‘अब काम गर्दा हामीलाई बजेट अभाव हुने देखिएको छ थप भुक्तानीका लागि बजेट माग गरेका छौँ’, उनले भने, ‘प्रक्रियागत र बजेट पर्याप्त नहुनु पनि आयोजना ढिलाइको कारण हो।’

त्यसैगरी नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलाको तुसार पानीदेखि तिङ्कर भञ्ज्याङसम्म ७९ किलोमिटर सडकमध्ये हालसम्म १० किलोमिटर सडकको ट्र्याक खोलिएको छ। महाकाली लोकमार्ग निर्माण भए सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खुल्ने विश्वास गरिएको छ। कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले चीनको सिमाना तिङ्करसम्म सडक सञ्जाल विस्तार गरी व्यापारिक नाकाका रुपमा महाकाली करिडोरलाई विकास गर्नुपर्नेमा जोड दिए।

‘माहाकाली करिडोरलाई त्रिदेशीय नाकाका रुपमा विकसित गर्न सके सुदूरपश्चिमको आर्थिक समृद्धि हुन्छ’, उनले भने, ‘सरकारले करिडोरलाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्नुपर्छ।’ वरिष्ठ उपाध्यक्ष मल्लले अहिलेकै गतिमा निर्माण भए योजना सम्पन्न गर्न अझै धेरै वर्ष लाग्ने भएकाले छिटो सम्पन्न गर्न सरकार तदारुकताका साथ लाग्नुपर्ने बताए। 

नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गोकर्ण अवस्थीले महाकाली लोकमार्ग बने तेस्रो मुलकुसँगको व्यापारको ढोका खुल्ने अपेक्षा गरे। ‘व्यापारिक मात्रै नभएर नेपालमा धार्मिक पर्यटनको सम्भावना तथा विकासका लागि समेत यो लोकमार्ग बन्नु जरुरी छ‘, उनले भने, ‘सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकाले यहाँका हरेक पालिकामा औद्योगिक क्षेत्रका लागि जग्गा छुट्याउनुपर्छ।’

प्रकाशित: Jan 13, 2023| 21:00 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।