काठमाडौं– चालू आर्थिक वर्ष २०७९ को मंसिर मसान्तसम्म चालू खाता घाटा करिब ३८ अर्ब पुगेको छ। सोही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ।
शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पहिलो ५ महिनामा चालू खाता ३७ अर्ब ९१ करोडले घाटामा छ। गत आवको समीक्षा अवधिमा चालू खाता २ खर्ब ९८ अर्ब ५१ करोडले घाटामा थियो। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी आई ३ अर्ब ४७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख पुगेको राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ६४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ७ करोड रहेको थियो। राष्ट्र बैंकका अनुसार गत मंसिर मसान्तसम्म शोधनान्तर स्थिति ५ अर्ब ८७ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्बले घाटामा थियो।
गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति ५ महिने अवधिमा ६.३ प्रतिशतले बढेर मंसिर मसान्तसम्म १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको छ। गत मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।