सोमबार, जेठ २७, २०८२

ओली र नेपालसँग जापानी प्रतिनिधिमण्डलको भेट

नेपाल–जापान सम्बन्धलाई अझै दरिलो बनाउने उद्देश्यले बुधबार नेपाल आएको टोलीले बिहीबार पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र माधवकुमार नेपालसँग भेट गरी छलफल गरेको हो।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं- जापानको सत्तारुढ पार्टी ‘लिबरल डेमोक्र्याटिक’ का सांसद तथा पूर्व राज्यमन्त्री तैरा मासाकीसहितको टोलीले नेपालका दुई पूर्वप्रधानमन्त्रीसँग छलफल गरेको छ। नेपाल–जापान सम्बन्धलाई अझै दरिलो बनाउने उद्देश्यले बुधबार नेपाल आएको टोलीले बिहीबार पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र माधवकुमार नेपालसँग भेट गरी छलफल गरेको हो।

जापानी टोली गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टको निमन्त्रणमा नेपाल आएको हो। ओली निवास बालकोट र एकीकृत समाजवादी पार्टी कार्यालय बानेश्वरमा बिहीबार भएका छुट्टाछुट्टै भेटमा सांसद तथा पूर्व राज्यमन्त्री मासाकीले दुई मुलुकबीच आर्थिक साझेदारीसहितको सम्बन्धलाई झनै बलियो बनाउनुपर्नेमा जोड दिएका थिए। नेपालमा पर्यटन, जलस्रोतलगायतका क्षेत्रको विकासका लागि लगानी गर्ने उच्च सम्भावना रहेको आफूले पाएको पनि त्यस अवसरमा उनले बताएका थिए।

पछिल्ला वर्षहरुमा जापानमा जनसंख्या वृद्धिदर घटिरहेको बताउँदै जापानी प्रतिनिधिसभाका सांसद मासाकीले जापानमा दक्ष जनशक्तिको माग रहेको जानकारी दिए। मासाकीले जापानमा नेपाली कामदार र दक्ष जनशक्ति भित्र्याउन आफूले संसद्मा आवाज उठाउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले आफू जापान जाँदा त्यहाँ देखेको विकास, समृद्धि र संस्कृतिका बारेमा स्मरण गरेका थिए। अध्यक्ष ओलीले नेपालको कृषि, जलस्रोत, पर्यटनलगायतका पूर्वाधार विकासका लागि जापानले धेरै सहयोग गरेको भन्दै सराहना प्रकट गरेका थिए। अध्यक्ष ओलीले नेपाल अहिले विकास र समृद्धिको बाटोमा लागेको र यसका लागि धेरै वित्तीय स्रोतको आवश्यकता पर्ने हुँदा विगतमा जस्तै आगामी दिनमा पनि जापानले सहयोग जारी राख्नेमा आफू आशावादी भएको बताए।

अर्का पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले नवीनतम प्रविधि र सीपका लागि जापान संसारमा नै सबैभन्दा माथि रहेको भन्दै यस्तो प्रविधि र सीप नेपालमा पनि भित्र्याउनुपर्नेमा जोड दिए। अध्यक्ष नेपालले दुई मुलुकबीचको राजनीतिक, सामाजिक र आर्थिक सम्बन्ध धेरै पुरानो र मजबुत रहेको भन्दै आगामी दिनमा पनि यसलाई कायम राख्न यस्ता भेटघाट महत्वपूर्ण हुने बताए।

दुवै भेटका अवसरमा पूर्वअध्यक्ष भट्टले नेपाल र जापानको ऐतिहासिक सम्बन्ध, यसबाट दुवै मुलुकले पाइरहेको सहयोगलगायतका विषयमा जानकारी गराएका थिए। जापानका विभिन्न क्षेत्रमा लगानी गर्दै आएका अध्यक्ष भट्टले दुई मुलुकबीचको लामो सम्बन्धलाई आगामी दिनमा विकासको साझेदारका रुपमा विकसित गर्न सके नेपालले झनै फाइदा लिन सक्ने धारणा राखे। 

तीन दिने भ्रमणमा आएको टोलीले शुक्रबार निजी क्षेत्रसहित अन्य विशिष्ट व्यक्तिहरुसँग भेटघाट र छलफल गर्ने कार्यक्रम छ। 

प्रकाशित: Jan 12, 2023| 21:02 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्