भक्तपुर– विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झन्डै ७ करोड पुगेको छ। नगरपालिकाको बेरुजु बढेपछि नगरप्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गरेका छन्।
नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४/७५ देखि आव २०७७/७८ सम्म ३३ शीर्षकमा ६ करोड ८६ लाख ४२ हजार ८७३ रहेको छ। त्यसमा सबैभन्दा बढी बेरुजु आव २०७७/७८ मा उपभोक्ता समितिमार्फत गरिएको कामको रहेको छ ।
उपभोक्ता समितिले नगरपालिकासँग सम्झौता गरेर रकम निकास गर्ने तर उपभोक्ता समिति आफूले काम नगरेर अर्को ठेकेदारलाई कामको जिम्मा दिएका विकासका कामको मात्रै १ करोड २८ लाख ८९ हजार ८६४ रुपैयाँको बेरुजु रहेको नगरपालिकाको आर्थिक प्रतिवेदनमा उल्लेख छ।
नगर प्रमुख खत्रीले भने, ‘विगत पाँच वर्षमा हचुवामा जसरी पायो त्यसरी रकम बाँडेको देखियो। लगेको रकमको काम गरेर फस्र्योट गरेको भए हुन्थ्यो। काम अधूरो बनाउने र कामै नगरेको पाइएकाले त्यस्तो रकम इमानदारी साथ फिर्ता गर्न आह्वान गर्दछु, अन्यथा कानुनअनुसार अगाडि बढ्छौं।’
त्यस्तै, नगरपालिकाले चालू आव २०७९÷८० का लागि पुँजीगततर्फ १ अर्ब ३४ करोड ७१ लाख ४३ हजार ९५७ र चालूतर्फ ७७ करोड १८ लाख ८२ हजार २४३ गरी कुल २ अर्ब ११ करोड ८९ लाख ८६ हजार २०० बजेट विनियोजन गरेकामा ६ महिने अवधिमा कुल बजेटको २३.२८ प्रतिशत अर्थात् पुससम्म कुल ४९ करोड ३४ लाख ७० हजार खर्च गरेको नगर प्रमुख खत्रीले बताए।
आन्तरिक राजस्वतर्फ २६ करोड २६ लाख ३० हजार संकलन गर्ने लक्ष्य राखेकामा पुससम्म ६ करोड ८४ लाख १३ हजार २४३ अर्थात् २६.४ प्रतिशत मात्रै संकलन भएको उनले जानकारी दिए।