काठमाडौं- हिमालयन बैंकमा गाभिने प्रक्रिया स्वीकृत गर्दै सिभिल बैंक लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
कालिकास्थानस्थित अमृतभोग बैंक्वेटमा सम्पन्न सभाले सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गर्ने सन्दर्भमा बैंकको १०० कित्ता सेयरबराबर हिमालयन बैंकको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात (१००: ८०.२८) कायम गरी प्राप्ति कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।
यसका साथै सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गर्ने सम्बन्धमा भएको सम्पत्ति तथा दायित्वको मूल्यांकनकर्ताको नियुक्ति र निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन (ड्यु डेलिजेन्स अडिट रिपोर्ट), समझदारीपत्र तथा अन्तिम सम्झौतापत्रलगायतका सम्पूर्ण कामकारबाही सभाबाट अनुमोदन भएको छ।
सिभिल बैंकको प्राप्ति गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, धितोपत्र बोर्डलगायतका नियमनकारी निकायहरुबाट स्वीकृति लिने तथा अभिलेख गर्ने क्रममा भए गरेका काम कारबाही वा पुँजी संरचना वा प्रबन्धपत्र नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशनबमोजिम मिलाई संशोधन वा परिमार्जनसमेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिएको छ।
सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्तापुँजीको ५ प्रतिशतबराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि प्रतिसेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने सर्वसम्मतिले स्वीकृत प्रदान गरेको छ।
सभाले आर्थिक वर्ष २०७९–८० को लेखापरीक्षण गर्नका लागि एस राई एन्ड एसोसियट्सलाई लेखापरीक्षकमा नियुक्त पनि गर्ने निर्णय गरेको छ।
करिब ८ लाखभन्दा बढी ग्राहकलाई ११५ शाखा, १३ एक्सटेन्सन काउन्टर तथा १०२ एटीएममार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले हालसम्म रु. ९६ अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु. ८६ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ।