काठमाडौं- ठमेलस्थित एलओडी क्लब यस वर्ष पनि 'डिजे म्याग टप १००' को नोमिनेसनमा परेको छ। बेलायतस्थित डिजे म्यागले छनोट गर्ने सन् २०२३ को क्लब क्याम्पियनमा एलओडी परेको हो। सन् २०२२ मा एलओडी विश्वको उत्कृष्ट क्लबको ५२ औं स्थानमा परेको थियो।
म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन्। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनोट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ। एलओडीका अनुसार भोट गर्न डिजे म्यागको वेबसाइटमा जानुपर्छ। त्यसपश्चात बेलायतको झण्डामा क्लिक गर्नुपर्छ। मत गर्नका पुनः फेसबुक वा गुगलको अप्सन आउँछ। डिजे म्यागको १०० क्लब आएपछि तलपट्टिको भागमा 'इट्स कुल लेट्स गो' मा क्लिक गर्नुपर्छ।
प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन्। अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडी क्लब लेख्दै काठमाडौं सहरको नाम उल्लेख गर्नुपर्नेछ। एलओडी डिजे म्याग टप १०० को छनोटमा पुनः पर्न सफल भएको क्लबका निर्देशक भुपेन शमशेर कुँवरले जानकारी दिए। सय क्लबको छनोटमा पुनः पर्न सफल भएमा क्लब व्यवसायीहरूले पनि राष्ट्रका लागि केही गर्न सक्न जाने सन्देश जाने धारण व्यक्त गरे। 'एलओडी क्लब डिजे म्यागको टप १०० भित्र परिसकेको छ। २०२२ टप १०० को एलओडी ५२ स्थानमा परिसकेको छ। क्लबकै कारण पनि नेपालको नाम विश्वसामु फैलाउन सफल भएका छौं। यसपटक पनि राम्रो स्तरमा पर्न सक्ने गरी काम गरिरहेका छौं।'
५२ औं स्थानमा परिसकेपछि मनोरञ्जन गर्न आउने पर्यटकको संख्या बढ्को कुँवरको भनाइ छ। २०२३ मा टप १०० मा क्लब पर्न सकेमा स्वदेशी तथा विदेशी क्लबका पारखीको संख्या बढ्ने उनले बताए। पछिल्लो समय क्लबका कारण रात्रीकालीन व्यापार व्यवसाय गर्नेलाई सहज भइरहेको उनले सुनाए। पर्यटकीय क्षेत्र ठमेलमा भाडाका सवारीसाधनको आम्दानीको स्रोत बढिरहेको उनले उल्लेख गरे। ‘क्लबले सयौंलाई रोजगारी प्रदान गरेको छ। क्लब खुलेपछि साना व्यवसायीको संख्या बढेको छ। मृत गल्लीलाई जागृत बनाएका छौं,' उनले भने।