सोमबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थतन्त्रलाई गति दिन निजी क्षेत्रसँग सहकार्य अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड

अर्थतन्त्रलाई गति दिन निजी क्षेत्रसँग सहकार्य अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड

अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको प्रगति र योगदान आवश्यक हुने प्रधानमन्त्री प्रचण्डको धारणा।
 |  बुधबार, पुस २७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रलाई गति दिन सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई अपरिहार्य ठानेको बताएका छन्। उनले सार्वजनिक–निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्रमा देखिएका चुनौती हल गर्न सकिने धारणा व्यक्त गरे। बुधबार नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेको गोरखा महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

प्रधानमन्त्री भएपछि क्याबिनेटको पहिलो बैठकबाटैै अर्थतन्त्रमा सुधारका निम्ति लिनुपर्ने नीति र उपायबारे गम्भीर छलफल भएको र अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको प्रगति र योगदान आवश्यक हुने उनले जानकारी दिए। आर्थिक विकासका चुनौती हल गर्दै सामाजिक न्यायको प्रत्याभूति,  सुशासन र समृद्धि हासिल गर्न सम्मानित संसद्मा समेत प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

गोरखालीले दिएको मतकै कारण प्रधानमन्त्री बन्न सफल भएकाले चुनावी प्रतिबद्धताअनुरूप जिल्लाको विकासका लागि प्रतिबद्ध रहने वाचा उनले व्यक्त गरे।

कृषिको आधुनिकीकरण, भौतिक पूर्वाधारको विकास, पर्यटन, कला संस्कृतिको संरक्षण, साना घरेलु उद्योगको प्रवद्र्धन र ठूला उद्योग निर्माण र बूढीगण्डकी जलविद्युत आयोजना, बेनीघाट–आरुघाट–लार्के सडक, पालुङटार विमानस्थललगायतका ठूला आयोजना अघि बढाउँदै रोजगारी सिर्जनामार्फत गोरखालाई सिंगो देशको समृद्धिका लागि नमुना जिल्ला बनाउने उनको धारणा छ।

प्रकाशित: Jan 11, 2023| 16:23 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्