सोमबार, साउन १३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नारायणी नदी क्षेत्रमा भेटिए ४३ प्रजातिका चरा, डल्फिन देखेर संरक्षणकर्मी उत्साहित

नारायणी नदी क्षेत्रमा भेटिए ४३ प्रजातिका चरा, डल्फिन देखेर संरक्षणकर्मी उत्साहित

चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिए।
 |  बुधबार, पुस २७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

चितवन- यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिए। 

‘गत वर्षको पक्षी गणनामा ३८ प्रजातिका पक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका पक्षी भेटिए’, उनले भने। चरा गणनाका क्रममा अहिलेसम्म नारायणी क्षेत्रमा नभेटिएको ‘राज सुड सुडिया’ नामको पक्षी पनि अहिले भेटिएको चौधरीले बताए।

गत वर्ष नदेखिएका विभिन्न चार प्रजातिका चरा यसवर्ष देखा परेको संयोजक चौधरीले बताए। ‘यस वर्षको गणनामा जुरे हुटिट्याउ, बेल्चा ठुडे हाँस, जुरे हाँस र लाल खुट्टे टिम टिया प्रजातिका चरा फेला पारेका छन्’, उनले भने, ‘चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा गत वर्ष यी प्रजातिका चरा गणना भएका थिएनन्।’

नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातीका चरा पाइने गरेका छन्। ती मध्ये नारायणी नदी क्षेत्रमा यसवर्ष उक्त प्रजाती फेला परेको जनाइएको छ। नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो।

सिघ्रौलीदेखि अमलटारी, सिघ्रौलीदेखि पिठौली, पिठौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिएको हो। गत वर्षको तुलनामा यसवर्ष चराको समग्र सङ्ख्या घटेको प्रारम्भिक अनुमान गरिएको छ। 

‘यस वर्ष पनि समग्रमा चराको संख्या घटेको पायौं, चौधरीले भने, ‘प्रत्येक वर्ष नेपालमा क्रमिक रुपमा चराको सङ्ख्या घटिरहेको छ।’ साइबेरियालगायत उत्तरी गोलार्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा धेरै संख्यामा खोया हाँस देखिएका उनले बताए। 

‘कुनै प्रजातिका चरा गत वर्षभन्दा बढी र कुनै प्रजातिका चरा गत वर्षको तुलनामा न्यून देखिएका छन्’, चौधरीले भने, ‘यस क्षेत्रमा चखेवा, खोया हाँस, जलेवा र पानी गौथली चरा धेरै पाइने गरेका छन्।’ निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा भने खासै फरक नदेखिए पनि आगन्तुक चराको सङ्ख्यामा धेरै नै कमी आएको चौधरीले बताए।

डल्फिनले ल्याएको उत्साह
नवलपुर- नवलपरासी (बर्दघाट-सुस्तापूर्व) र चितवन हुँदै बग्ने नारायणी नदीमा पटक-पटक डल्फिन देखिन थालेका छन्। डल्फिन देखिन थालेपछि यसक्षेत्रका संरक्षणकर्मी उत्साही बनेका छन्। ‘पछिल्लो एक महिनाको अवधिमा तीन पटक डल्फिन देखियो’, संरक्षणकर्मी टेक महतोले भने, ‘यसले हामीलाई निकै हौसला दिएको छ।’ 

महतोले गत मङ्सिर १४ गते, पुस १३ गते र पुस २६ गते नवलपुरको अमलटारीघाटमा डल्फिन देखेको बताए। ‘नारायणी नदीमा डल्फिन छ भनेर हाम्रा बाबुबाजेले भनेको सुन्ने गरेका थियौँ’, उनले भने, ‘अहिले आफ्नै आँखाले डल्फिन देख्न र फोटो खिच्न पाउँदा निकै खुसी लागेको छ।’ उनले अमलटारीघाटमा मात्रै नभएर कहिले केही तल सेहरी त कहिले पितौजीघाटसम्म देखिने गरेको जानकारीमा आएको बताए।

‘कहिले अमलटारीबाट दक्षिणमा रहेको मध्यविन्दु नगरपालिकाको नन्दपुर तथा सेहरीमा डल्फिन देखिएको सुन्छु, कहिले उत्तरतर्फ गैँडाकोट नगरपालिकाको पितौजीघाटमा डल्फिन देखिएको खबर आउँछ’, महतोले भने, ‘यी सबै ठाउँमा देखिएका डल्फिन एउटै हुन् वा फरक हुन् भन्नेबारे भने अध्ययन हुनसकेको छैन।’

सन् २०१८ मा नारायणीमा डल्फिन देखिएपछि गत वर्षमात्रै चरा गणनाको बेलामा महतोले नै भेलौजी पोष्ट नजिक डल्फिन भेटेर फोटो खिचेको स्मरण गरे। ‘सन् २०१८ मा डल्फिन भेटिएको सुनेको थिएँ, त्यसपछि सायद डल्फिन देखिएको थिएन’, उनले भने, ‘गतवर्ष चरा गणनाका बेलामा मैले भेलौजी पोष्ट नजिक दुई डल्फिन देखेको थिएँ।’

यसपछि भने धेरैपटक डल्फिन देखेको महतोको भनाइ छ। ‘हाम्रो नारायणीमा डल्फिन देखिनु गौरवको कुरा हो’, उनले भने, ‘डल्फिनलाई नजिकबाट देख्न पाउँदा निकै आनन्द आउँछ।’ अमलटारीघाटमा पटक-पटक डल्फिन देखिँदा पनि यसको स्थानीय प्रशासनले संरक्षणमा चासो नदेखाएको महतोले गुनासो गरे।

‘डल्फिन निरन्तर देखिएको यो क्षेत्रमा माछा मार्ने तथा अन्य गतिविधि हुने गरेको छ’, महतोले भने, ‘तर, स्थानीय प्रशासनको संरक्षणमा चासो देखिएन।’ माछा मार्न बोटेहरूले तियारी जालको प्रयोग गर्दा संरक्षणमा नै चुनौती थपिनसक्ने महतोको भनाइ छ।

‘घडियाल गोहीको मुखमा तियारी जाल अल्झिएको देखेर मैले फोटोसमेत खिचेको छु’, उनले भने, ‘सङ्कटापन्न जीवजन्तुको संरक्षणमा सबैको हातेमालो आवश्यक छ।’ एकान्त तथा धेरै हल्ला नहुने क्षेत्रमा डल्फिन भेटिने गरेको भए पनि यस क्षेत्रमा मानवीय क्रियाकलाप बढी हुने उल्लेख गर्दै महतोले यसबारे प्रशासनले कडाइ गर्नुपर्ने बताए।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले नारायणी नदीमा डल्फिन भेटिनु भनेको संरक्षणमा सकारात्मक कुरा भएको बताए। ‘यो सकारात्मक कुरा हो। हामीले नदीमा मान्छेको मुभमेन्ट कम गर्न सेना तथा निकुञ्ज प्रशासनको गस्ती बढाएका छौँ’, उनले भने, ‘नदीमा आश्रित समुदायलाई माछा मार्न दिइएको भए पनि तियारी जाल प्रतिबन्ध गरेका छौँ।’

नदीमा तियारी जाल प्रयोग गरेर लुकिछिपी माछा मार्ने व्यक्तिलाई निकुञ्जले निकुञ्ज ऐनअनुसार कारबाही गर्ने गरेको तिवारीले बताए। ‘निकुञ्ज ऐनले नै नदीमा आश्रित बोटेमाझी जातिलाई माछा मार्न दिने व्यवस्था गरेको छ’, उनले भने, ‘नदीमा माछा मार्न नयाँ लाइसेन्स दिएका छैनौँ, पुरानाको भने नियमित नवीकरण हुने गरेको छ।’

नदीमा घडियालको उपस्थिति कस्तो छ भन्ने बारेमा राष्ट्रियस्तरको सर्वेक्षण हुनुपर्ने सहायक संरक्षण अधिकृत तिवारीको भनाइ छ। ‘हामीले घडियाल अनुगमनसँगै डल्फिनको पनि अनुगमन गर्न सक्छौँ’, तिवारीले भने, ‘अनौपचारिक रूपमा हामीले पनि अध्ययन गरेका छौँ, तर विभागले औपचारिक रूपमा गणना गरेको अवस्थामा राम्रो हुन्छ।’

नारायणी नदीमा डल्फिन भेटिँदा संरक्षणसँगै यहाँको पर्यापर्यटनमा सकारात्मक प्रभाव पर्ने संरक्षणकर्मी डिबी चौधरीले बताए।

‘नदीमा डल्फिन देखिने क्रम बढेसँगै यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्न सक्छ’, उनले भने, ‘यसले संरक्षणसँगै स्थानीयवासीको आयआर्जनमासमेत वृद्धि गर्छ।’ डल्फिन संरक्षणका लागि संरक्षणकर्मीसँगै सरकारी र समुदायको समेत महत्त्वपूर्ण भूमिका रहने चौधरीको भनाइ छ।

-रासस

प्रकाशित: Jan 11, 2023| 17:20 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।