सोमबार, जेठ २७, २०८२

करोड हाराहारी पुगे इन्टरनेट प्रयोगकर्ता

निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले बजार विस्तार गरिरहँदा अप्टिकल फाइबरको प्रयोग बढ्न सघाएको हो।
 |  बुधबार, पुस २७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले केबुलमार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या करिब १ करोड पुगेको तथ्यांक सार्वजनिक गरेको छ।प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार असोजसम्म अप्टिकल फाइबर (केबुल)मार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या ९९ लाख ८७ हजार रहेको छ। निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले बजार विस्तार गरिरहँदा अप्टिकल फाइबरको प्रयोग बढ्न सघाएको हो। 

वाइफाई तथा कम्प्युटरमा समेत फिक्स्ड इन्टरनेटका रूपमा जडान गर्न सकिने र परिवारका सदस्य सबैले चलाउन मिल्ने भएकोले केबुल इन्टरनेटमा आकर्षण बढेको छ। प्रतिस्पर्धा तीव्र हुँदा केबुल इन्टरनेटको मूल्य घटेको र सरकारले समेत देशैभर ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने परियोजना सम्पन्न गरिसकेकाले यसमा पहुँच बढ्दै गएको प्राधिकरणले बताएको छ।

प्राधिकरणले सात वटै प्रदेशमा अप्टिकल केबल बिछ्याउने परियोजना हालै मात्र सम्पन्न भएको जनाएको थियो। उक्त परियोजनाको कार्यान्वयनको जिम्मेवारी पाएका निजी सेवाप्रदायकले दुई वर्षपछि घरायसी प्रयोगकर्तालाई काठमाडौंकैै प्रचलित मूल्यमा इन्टरनेट उपलब्ध गराउन सक्ने व्यवस्था प्राधिकरणले गरेको थियो। सोही कारण परियोजना सम्पन्न भएपछि घरायसी प्रयोगकर्ता केबुल इन्टरनेटमा जोडिएका हुन्। 

प्राधिकरणको तथ्यांकअनुसार केबल इन्टरनेट प्रयोगकर्तामध्ये नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटीटीएच प्रयोगकर्ता ८ लाख ८६ हजार र निजी क्षेत्रका सेवाप्रदायकले उपलब्ध गराएको केबुल इन्टरनेटका प्रयोगकर्ता ९१ लाख नाघेका छन्।

सबैभन्दा धेरैले मोबाइल इन्टरनेट प्रयोग गर्ने गरेको पाइएको छ। थ्रीजी प्रयोगकर्ता करिब ९२ लाख रहेका छन्। फोरजी प्रयोग गर्नेको संख्या १ करोड ८६ लाख २८ हजार पुगेको छ। दूरसञ्चार सेवाप्रदायकअनुसार गणना गर्दा नेपाल टेलिकमका थ्रीजी र फोरजी गरेर २ करोड ५० हजार प्रयोगकर्ता छन्।एनसेलका ८८ लाख ८५ हजार र स्मार्ट टेलिकमका १२ लाख ७५ हजार प्रयोगकर्ता रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: Jan 11, 2023| 14:50 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्