काठमाडौं- सरकारले पूर्णता पाएको एक महिनाभित्र उमेर पुगेका सबै नेपाली नागरिकले नागरिकता पाउने भएका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारले यस्तो प्रतिबद्धता जनाएको हो।
सरकारले पूर्णता पाएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ। त्यस्तै सरकारले संसदको पहिलो अधिवेशनबाट नागरिकतासम्बन्धी अन्य समस्या समाधान गर्ने र सबै नेपालीलाई एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने पनि कार्यक्रम सार्वजनिक गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, सरकारका मन्त्री, मन्त्रालयका सचिवहरूको उपस्थितिमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेका हुन्। अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको कार्यक्रममा धेरै घुइँचो हुने सरकारी कार्यालयमा टाइम कार्ड, किसानलाई सहज तरिकाले मलको व्यवस्था, युवा स्वरोजगार कार्यक्रमलगायत विषयलाई बढी प्राथमिकता दिइएको छ।
सुशासन,राष्ट्रियताको रक्षा र अर्थतन्त्रमा सुधार,समृद्धि र शान्ति प्रक्रियाको पूर्णतासहितका एजेन्डालाई सरकारको प्राथमिकताका कार्यक्रममा राखिएको छ। महँगी नियन्त्रणसँगै सन्तुलित वैदेशिक नीति पनि सरकारले प्राथमिकतामा राखेको छ ।
त्यस्तै भ्रष्टाचार र अख्तियारको दुरूपयोगसँग जोडिएका विषयको छानविन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउने र ‘भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ’ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने नीति कार्यक्रममा समेटिएको छ।