काठमाडौं– ‘उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार, दिगो बैंकिङ– उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार’ नारासहित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। आइतबार सम्पन्न साधारणसभाले एनएमबी बैंक अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता ईश्वरीप्रसाद भट्टराईका अनुसार वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजनसिंह भण्डारी, कोषाध्यामा तुल्सीराम अग्रवाल, सचिवमा कुशप्रसाद मल्ली र सह–कोषध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ चयन भएका छन्। त्यस्तै, सदस्यमा उपेन्द्रकेशरी न्यौपाने, उपेन्द्रप्रसाद पौडेल, लीलाप्रकाश सिटौला, मोतीलाल दुगड, राधेश पन्त, महेन्द्रकुमार गोयल, भरतराज ढकाल र प्रो.हीरेन्द्रमान प्रधान सर्वसम्मत निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमिति अध्यक्ष गोल्यानले सिबिफिनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाइँमा लग्दै बैंकिङ क्षेत्रको साझा संस्थाको रुपमा विस्तार गर्ने र यस क्षेत्रको सुधार, विकास एवं विस्तारमा केन्द्रित हुने प्रतिबद्धता जनाए। अर्थ मन्त्रालय, राष्ट्र बैंकलगायतका नियामक निकाय र सरोकारावाला संस्थासँग निरन्तर सहकार्य गर्दै आर्थिक गतिविधिमार्फत राष्ट्रको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुने गोल्यानले बताए।
साधारणसभामा मुख्य अतिथि राष्ट्रपति विद्यादेवी भण्डारी रहेकी थिइन्। साधारणसभा अवसरमा राष्ट्र बैंकका गभर्नर, योजना आयोगका उपाध्यक्ष र अर्थमन्त्रीलगायत महत्त्वपूर्ण पदको नेतृत्व गरी राष्ट्रको अर्थतन्त्रलाई गतिशील बनाउन योगदान दिएका वरिष्ठ अर्थविद् डा. युवराज खतिवडालाई सिबिफिनले सम्मान गरेको थियो।