भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले वडा तहमै कानुनी उपचारका लागि मेलमिलाप केन्द्र सञ्चालनमा ल्याउने भएको छ। वडा तहमै मिलाउन सकिने कतिपय विवादलाई नगरपालिकाको न्यायिक समिति वा अदालतसम्म पुग्न नपर्ने गरी वडा स्तरमै छलफल र मेलमिलापका माध्यमबाट न्याय दिन नगरपालिकाले प्रत्येक वडामा उक्त केन्द्र सञ्चालन गर्ने भएको हो।
त्यसका लागि प्रशिक्षण दिन थालिएको छ। आठ दिनसम्म सञ्चालन हुने तालिममा प्रत्येक वडाबाट तीन जनाको दरले १० वटै वडाका ३० महिला कानुनी प्रशिक्षणमा सहभागी छन्।
प्रशिक्षण सुरु गर्दै नगरप्रमुख वासुदेव थापाले आफ्ना नागरिकलाई वडातहमै न्यायिक पहुँच दिलाउने उद्देश्यले मेलमिलापकर्ताका लागि कानुनका विज्ञबाट सञ्चालन गर्न लागिएकोे कानुनी र व्यावहारिक प्रशिक्षणले समस्या समाधानमा सघाउ पुग्ने बताए।
यसबाट कतिपय समस्या वडातहमै समाधान गर्न सकिने भए पनि त्यस्तो व्यवस्था नहुँदा पीडित न्याय माग्दै नगरपालिकाको न्यायिक समिति र अदालतसम्म पुग्नुपर्ने समस्या अन्त्य हुनाका साथै नगरबासीका विभिन्न समस्या वडास्तरमै समाधान गर्न मेलमिलाप केन्द्र प्रभावकारी हुने उनको भनाइ थियो।
नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका प्रमुख सरिता भट्टराईले प्रशिक्षण सम्पन्न भएलगत्तै नगरपालिकाले आफ्ना सबै वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने योजना बनाएको बताए। जनताको समस्या समाधान गर्न आवश्यक समन्वय गर्दै कसैलाई अन्याय हुन नदिन नगरपालिका कटिबद्ध रहेको चर्चा गर्दै उनले नगरपालिका ऐन, नीति, नियम र विधिले चल्ने निकाय भएकाले जनताको सकारात्मक साथ र सहयोग सधैं रहने उल्लेख गरिन्।
नगरपालिकाका प्रवक्ता एवं वडा–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले प्रत्येक वडामा आएका समस्यालाई वडा तहमै समाधान गर्ने र वडा तहमा समाधान हुन नसके मात्रै नगरपालिका वा माथिल्लो निकायमा जाने बाटो देखाउने गरी अगाडि बढ्न केन्द्र सफल हुनेमा विश्वास व्यक्त गरे।