बुधबार, साउन १५, २०८२

थारू समुदाय माघी पर्वको तयारीमा

समुदायकै सबैभन्दा ठूलो पर्वको रुपमा रहेको माघी नजिकिँदै गएसँगै थारु बस्तीमा उल्लास सुरु भएको छ। त्यस बस्तीमा माघीसम्बन्धी गीत पनि गुञ्जिन थालेका छन्।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

काठमाडौं- कञ्चनपुरका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन्। समुदायकै सबैभन्दा ठूलो पर्वको रुपमा रहेको माघी नजिकिँदै गएसँगै थारु बस्तीमा उल्लास सुरु भएको छ। त्यस बस्तीमा माघीसम्बन्धी गीत पनि गुञ्जिन थालेका छन्।

माघी धुमधामसँग मनाउन तयारीमा जुटेको बेदकोट नगरपालका–५ का सुरज चौधरीले बताए। ‘बस्तीमा पर्वको रौनक बढेको छ, अहिले थारुहरु जङ्गलबाट सालको पात टिपेर ल्याउने, दुनाटपरी बनाउने, कुटानीपिसानी गर्नेलगायत कार्यमा जुटेका छन्,’ उनले भने, ‘हामी माघीलाई नयाँ वर्षको रुपमा मनाउँछौँ।’ माघ १ गतेदेखि थारू नयाँ संवत् सुरुवात हुने थारु समुदायको मान्यता छ। 

उनीहरु माघीमा बङ्गुरको मासु नभइ नहुने परिकारको रुपमा लिन्छन्। ‘माघमा बङ्गुर नभएकाले त्यसको तयारीमा अहिले देखिनै जुटेका छन्,’ सुरजले भने, ‘मासु लिनेको लिस्ट माघीपूर्व नै बनाइसकेका हुन्छौँ।’ माघीमा चामलको पिठोबाट परम्परागत परिकार ढिक्री बनाउने गरिन्छ। ढिक्री खानका लागि चामलको पिठो बनाउन कुटानीपिसानीको काम भइरहेको भीमदत्त नगरपालिका–१८ की लक्ष्मी चौधरीले बताइन्।

‘विस्तारै विस्तारै गाउँघरका सबैजना तयारीमा जुटेको देखिन्छ,’ उनले भनिन्, ‘हाम्रो पनि तयारी भइरहेको छ।’ माघीको अवसरमा विभिन्न ठाउँमा माघी मिलन कार्यक्रमसमेत आयोजन गरिन्छ। उक्त समुदाय अहिले माघी मिलनको कार्यक्रमको तयारीमा समेत रहेको छ। माघी माघ महिनाभर मनाउने गरिएको बेदकोट नगरपालिकाका प्रदीप रानाले बताए। ‘पुस अन्तिम दिनदेखि पर्व सुरु हुन्छ, पहिलो दिन वर्षभरिको दुःख पीडा बिर्सेर मासु, भातलगायत मीठा परिकार खाएर रमाउने चलन छ,’ उनले भने, ‘सखिया, लठ्ठी नाच देखाउँदै घर घरमै गएर सानालाई आर्शिवाद दिने र ठूलाबाट आर्शिवाद लिने गरिन्छ।’

प्रदिपका अनुसार माघ १ गतेका दिन सबेरै उठेर नजिकैको नदी, तलाउमा नुहाएर पूजापाठ गर्ने प्रचलन छ। यसैगरी एकअर्कालाई भेटघाट गरेर शुभकामना आदानप्रदान गर्नाका साथै ढिक्री, मासुलगायत परिकार खाएर पर्व मनाउने गरिन्छ। पर्वको दोस्रो दिन नयाँ वर्ष रहेकाले सबैसँग मीठो बोल्ने, खराब आचरण त्याग्नेलगायतको शुभकार्य सुरुवात गर्ने प्रचलन थारु समुदायमा छ।

माघ पर्वको तेस्रो अर्थात् अन्तिम दिन घरपरिवार र गाउँ समाजमा ‘खोज्नीबोज्नी’ गर्ने गरिन्छ। यसै दिन गाउँको नेतृत्व गर्नका लागि भलमन्सा चयन पनि गरिन्छ। धार्मिक र सामाजिक महत्व बोकेको माघी थारू समुदायका मुक्तकमैयाका लागि मुक्तिको पर्व पनि हो। माघी मनाउन विदेश रहेका व्यक्ति पनि घर फर्कने गर्छन्। माघ ठूलो र खुशीको पर्व रहेकाले बस्तीमा नाचगान गरेर मनाउने गरिएको लालझाडी गाउँपालिकाका लोकेन्द्र चौधरीले बताए।  -रासस

प्रकाशित: Jan 08, 2023| 19:15 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।