बाग्लुङ- विसं २०४५ मा बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका-७ जैदी धुल्लुका मोहराज शर्माले तीन सय तिरेर काठमाडौंमा मौरीपालन तालिम लिएका उनले मौरीपालनमै आफ्नो जीवन बित्छ भनेर सोचेका थिएनन्।
वैदेशिक रोजगारीमा पुगेर मनग्य पैसा कमाउने सोचमा काठमाडौं पुगेका उनको विदेश जाने सपना त पूरा नभए पनि मनग्य आम्दानी गर्ने सपना भने पूरा भएको छ।
वैदेशिक रोजगारीको सिलसिलामा काठमाडौंमा बस्ने क्रममा मौरीपालन तालिम सिकेका मोहराज विगत २५ वर्षदेखि गाउँमै मौरीपालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन्।
मोहराजको नाम मौरीपालन व्यवसायकै कारण परिवर्तन भइ हिजोआज उनलाई गाउँलेले ‘महराज’ अर्थात् महको राजा भनेर बोलाउने गर्छन्। उनको घर र आगन मौरीका आधुनिक घारले ढपक्कै ढाकिएको छ।
झट्ट हेर्दा सङ्ग्रहालय जस्तै देखिने मौरीका घरबाटै उनले वार्षिक १० लाख बराबरको आम्दानी गर्दै आएका छन्। मोहराज अहिले मौरीपालनबाट जिल्लास्तरमा निकै चर्चितसमेत बन्नाका साथै मौरीपालन किसानका लागि अगुवासमेत बन्दै आएका छन्।
विसं २०४५ मा मुढेघारबाट मौरिपालन गर्दै आएका उनले २०५२ सालयता आधुनिक घारमा मौरीपालन गर्दै आएका छन्। मोहराजको घरमा अहिले एक सय ५० मौरीका घार छन् भने बाग्लुङ बजारको क्याम्पस रोडमा ५० घार छन्।
‘मौरीपालनमै जीवन ब्यथित गरियो अहिले ७० वर्ष काटियो, धेरैलाई मौरीपालनमा अग्रसर पनि गराइयो, अहिले धुल्लु र क्याम्पसगेटमा गरी दुई सय मौरीका घारमा मह उत्पादन भइरहेको छ, मह र मौरीसहितको घार बिक्रीबाट वार्षिक १० लाख आम्दानी हुँदै आएको छ,’ मेहराजले भने, ‘वार्षिक १० क्विन्टल मह, उत्पादन र बिक्री भइरहेको छ, मौसम अनुकुल रहे अझै धेरै उत्पादन हुन्छ, मह बिक्रीका लागि आफूले बजार पुर्याउनै पर्दैन, अहिलेसम्म मागअनुसार मह पुर्याउनै सकिएको छैन।’
मौरीसहितको घारलाई नौ हजारमा बिक्री गरिँदै आइएको उनको भनाइ छ। यहाँ प्रतिकिलो मह एक हजार दुई सय पर्छ। मह उत्पादनभन्दा पनि घारसहितको मौरी बिक्रीबाट बढी आम्दानी गर्न सकिने मोहराजको अनुभव छ।
‘कहिले त एक वर्षमै मौरीसहित १०० घारसम्म बिक्री हुन्छ, अहिले त्यति राम्रोसँग घार बिक्री भइसकेका छैनन्, विभिन्न जिल्लामा अनुदानमा घारसहितको मौरी बिक्रीका लागि यहाँबाट कृषि ज्ञान केन्द्रले खरिद गरेर लैजान्छ,’ उनले भने, ‘आफ्नो घरमा उत्पादन भएको घारसहितको मौरी गुल्मी, स्याङ्गा, काठमाडौं, चितवनलगायतको स्थानमा बिक्री हुने गरेको छ, मह भने बाग्लुङ बजारमा बिक्री हुन्छ।’
उपयुक्त याममा एउटै घारबाट एक पटकमा सात देखि आठ केजीसम्म मह काढ्न सकिने बताउँदै मह प्राय कात्तिक, मंसिर, फागुन र जेठमा राम्रो हुने मोहराजले जानकारी दिए।
स्थानीय सेरेना जातको मौरीबाट उत्पादित मह केही घरबाटै र केही बाग्लुङ बजारबाट बिक्री हुने गरेको छ। बाग्लुङ बजारमा शर्माको बुहारी राधा र धुल्लुमा शर्मिलाले मौरीपालनमा सहयोग गरिरहेका छन्।
उत्पादन भएको मह उपहारस्वरुप जापान, अमेरिका, अष्ट्रेलिया बेलायतलगायत मुलुकमासमेत पुग्ने गरेको उनको भनाइ छ। यहाँ रहेका विभिन्न वनस्पति र फलफूलका रसबाट बनेको प्राङ्गारिक मह भएकाले धेरैले रुचाउने गरेको बुहारी शर्मिला जानकारीले बताइन्।
‘बुबाको मेहनत निकै छ, अहिले त मौरीपालन गर्न हामीलेसमेत सिकिसेका छौँ, बुबालाई सहयोग पुर्याउनाका साथै तालिमसमेत दिने भइसकेकी छु’, उनले भनिन्, ‘बुबाकै प्रेरणाका कारण मौरीपालनमा आफू समेत अग्रसर भएकी छु, विभिन्न मौरीपालन तालिममा समेत आफू सहभागी भइसकेको छु।’
धुल्लु गाउँमा मोहराजको मौरीपालन देखेर अन्य स्थानीयवासीले समेत घरमै खानका लागि भए पनि मौरीपालन गर्न थालेका छन्। मौरीपालनमा उनको पच्चीस लाख लगानी भइसकेको छ।
मोहराजले व्यवसायको सुरक्षाका लागि घर वरपरको जग्गालाई पर्खालसहित तारबार पनि गरेका छन्। यो व्यवसाय जिल्लाका अन्य मौरीपालन व्यवसायीलाई समेत प्रेरणाको स्रोत बनेको छ। -रासस