सल्यान- प्रतीक्षालयबाट लडेर शारदा नगरपालिका–३ पौवाबारीस्थित खडगदेवी प्राथमिक विद्यालयका कार्यालय सहयोगी ५३ वर्षीय तीर्थबहादुर सेजवालको मृत्यु भएको छ।
सिरुबारमा घर भएका उनी घर नजिकैको शिवपार्वती मन्दिर परिसरमा निर्माण गरेको प्रतीक्षालयबाट लडेका थिए। प्रतीक्षालयबाट लडेर करिब ५ मिटर तल खस्दा टाउकोमा गहिरो चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
लडेर मृत्यु भएका सेजवालबारे स्थानीय तथा आफन्तले आइतबार बिहान थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। लडेर मृत्यु भएका सेजवालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लगिएको छ।
शिवपार्वती मन्दिरमा भक्तजनहरू आउने भएकाले उनीहरूलाई विश्राम गर्नका लागि मन्दिर परिसरमा दुई वर्षअघि प्रतीक्षालय निर्माण गरिएको थियो।