मंगलबार, जेठ २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • राजस्व संकलन ह्वात्तै घटेपछि सीमाबिन्दुमै सशस्त्र प्रहरीको सक्रियता

राजस्व संकलन ह्वात्तै घटेपछि सीमाबिन्दुमै सशस्त्र प्रहरीको सक्रियता

मुलुकको दोस्रो ठूलो नाकाबाटै राजस्व संकलन घटेपछि सीमा सुरक्षा र अवैध चोरी–निकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सीमाबिन्दुमै बढायो सक्रियता।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

भैरहवा– रुपन्देहीको भैरहवा भन्सार कार्यालयमा राजस्व संकलन घटेसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ। नेपालकै दोस्रो ठूलो भन्सार नााकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले पछिल्लो १२ महिनादेखि निरन्तर राजस्व संकलन लक्ष्यअनुरुप गर्न नसकेर घाटामा गइरहेको छ।

मुलुकका लागि ठूलो योगदान गर्ने यो नाकाबाटै राजस्व संकलन घटेसँगै सीमा सुरक्षा र अवैध चोरी–निकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सीमाबिन्दुमै सक्रियता बढाएको हो।

सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रण सशस्त्र प्रहरीको पहिलो जिम्मेवारी हो । सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वार्टरको नेतृत्वमा समग्र रुपन्देहीको  सीमा सुरक्षा व्यवस्था भइरहेको छ।

सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठका अनुसार सीमामा चोरी निकासी रोक्न थप जनशक्ति परिचालन गरी आकस्मिक र आवश्यकताअनुसार ठाँउठाँउमा चेकजाँच बढाइएको छ । सरकारलाई राजश्वको दबाब पनि परेको छ, सशस्त्र प्रहरीले पनि केही योगदान गर्न सक्छ की भनेर जनशक्तिको अधिकतम प्रयोग गरी राजश्व वृद्धिका लागि दुई सातादेखि लागेको उनले बताए।

मुलुकको दोस्रो ठूलो नाकाबाटै राजस्व संकलन घटेपछि सीमा सुरक्षा र अवैध चोरी–निकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सीमाबिन्दुमै बढायो सक्रियता।

एसपी श्रेष्ठका अनुसार नियमितका साथै सरप्राइज चेकिङ पनि भइरहेको छ। जहाँबाट नतिजा राम्रो पाएको र त्यसमै केन्द्रित भएर सीमामा भएको अवैध ओसारपसार नियन्त्रण र निरुत्साहित गर्न सशस्त्र प्रहरी लागेको छ। उनले भने, ‘सीमा क्षेत्रमा लाग्दै आएको फरेनिया बजारमा जान नेपालीलाई रोक लगाउँदै आएका छौं। कोभिडको नयाँ भेरियन्ट पनि देखिएकोले थप सजगता, सुरक्षा चुनौती र जोखिमलाई लक्षित गर्दै नेपालीलाई सचेत पनि गराइरहेका छौं।’

एक वर्षदेखि भैरहवा भन्सार कार्यालयले पाएको लक्ष्य भेट्याउन सकेको छैन। कार्यालयको तथ्यांकअनुसार मंसिर २०७८ सम्म लक्ष्यअनुरुप सफलता हासिल भए पनि पुसपछि लक्ष्य प्राप्त नै नभई आयात घटदै गएको छ। नयाँ वर्षको सुरुआतसँगै घट्दो क्रममा रहेको भन्सार राजस्व संकलन बढेको छैन। आर्थिक वर्ष २०७९/८० को पहिलो महिना लक्ष्यको ७०.९८ प्रतिशत राजस्व संकलन भए पनि भदौमा ६७, असोजमा ४१, कात्तिकमा ४० र मंसिरमा ३९ प्रतिशतमा सीमित रह्यो।

५ पुस २०७८ देखि राष्ट्र बैक केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्थापन विभागले ‘क’ वर्गका वाणिज्य बैंक र ‘ख’ वर्गका विकास बैंकलाई विभिन्न २० वटा हार्मोनिक कोडअन्तर्गतको वस्तुको एलसी खोल्दा अनिवार्य तोकिएको मार्जिन प्रतिशत लिनुपर्ने प्रावधान लागू गरेसँगै भैरहवा भन्सार कार्यालयले लक्ष्य पार गर्न सकेको छैन।

प्रकाशित: Jan 08, 2023| 06:54 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्