काठमाडौं- प्रहरीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान दुई भारतीय किशोरमाथि केन्द्रित गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ तथा डिएनए परीक्षण प्रक्रिया अघि बढाएको छ। घटनाको दिन दुवै किशोर घटनास्थलआसपास देखिएका थिए।
घटनाको अनुसन्धानका लागि गत साता डिआइजी दुर्गा सिंहको नेतृत्वमा नयाँ टोली गठन गरिएको थियो। टोली हाल कञ्चनपुरमै छ। अनुसन्धानको घेरालाई साँघुरो बनाउने क्रममा ती युवकलाई पहिलेदेखि नै निगरानीमा राखेको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए।
१० साउन ०७५ मा निर्मलाको हत्या भएको थियो। पोस्टमार्टममा उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो। साथीको घरबाट फर्कंदै गर्दा उनको हत्या भएको थियो। घटनाको तीन सातापछि प्रहरीले एक स्थानीयलाई पक्राउ गरेकोमा उनको डिएनए नमिलेपछि प्रहरी अनुसन्धान विवादित बनेको थियो। त्यसयता अनेक अनुसन्धान समिति बनेपनि घटना सुल्झन सकेको छैन।