शुक्रबार, साउन १७, २०८२

२९ वर्ष बालबालिकासँग, अहिले सुन्तलासँग रमाउँदै तारा

विगत तीन दशक स–साना बालबालिकासँगै रमाउँदै आएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

स्याङ्‌जा- विगत तीन दशक स–साना बालबालिकासँगै रमाउँदै आएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ। 

बालबालिकाको सुनौलो भविष्यको मार्गचित्र कोर्नमा समय खर्चिदै आएकी तारा अर्याल अहिले भने सुन्तलाको हेरविचारमा तल्लिन छिन्। स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारीकी ६६ वर्षीया अर्यालले गाउँको नजिकै पोखरीचौरमा रहेको महेन्द्र देववाणी आधारभूत विद्यालयमा शिक्षिकाको रुपमा २९ वर्ष सेवा गरे।

शिक्षण पेसाबाट अवकाश भएकी अर्यालको अहिलेको दैनिकी सुन्तला बगैँचामै बित्ने गरेको छ। विद्यालयमा जसरी बालबालिकालाई माया गरेर शिक्षा दिइयो त्यसरी नै सुन्तलाका बोटलाई स्याहारसुसार नियमित गरेकै कारण पनि आम्दानीको मुख्य स्रोतको रुपमा सुन्तला भएको उनी बताउँछन्।

घरको आँगन, डिल तथा आसपासका बारी तथा कान्लामा सुन्तला लटरम्म फलेका छन्। घर वरिपरि रहेको सुन्तला बगैँचा पहेँलपुर छ। झट्ट हेर्दा जोकोही पनि मन आनन्दित र प्रफुल्लित हुने गर्छ। विगत वर्षको तुलनामा यस वर्ष सुन्तला अत्यधिक फलेकाले पनि बोटले फल धान्न नसकेर हाँगा लाछिएका छन्। केही बोटलाई एक दुई वटा टेका दिइएको छ।

सुन्तला पाक्न थालेसँगै बर्सेनि यहाँ व्यापारी बगैँचा नै ठेक्का लिन आउने गरेका छन्। यस वर्ष पनि उहाँले ठेक्कामार्फत रु चार लाखको सुन्तला बिक्री गरिसकेकी छन्। बाँकी सुन्तला अहिले बोटबाट नै फुटकररुपमा बिक्री भइरहेको छ। पुतलीबजारको जैँसीडाँडामा शीतभण्डार सञ्चालनमा आएसँगै यहाँका सुन्तला उत्पादक किसानले सुन्तला भण्डारण गर्ने गरेका छन्। अहिले प्रतिकेजी रु ९० देखि सयमा बिक्री हुँदै आएको सुन्तलाको मूल्य बढी पार्न शीतभण्डारमा राख्ने चलन बढ्दै गएको छ। अर्यालको सुन्तला बगैँचामा उत्पादन भएको सुन्तला स्थानीय बजारसहित पोखरा, काठमाडौँ, बुटवललगायतका बजारमा बिक्री हुँदै आएको छ।

सुन्तलाको मूल्य बढी पार्न अहिले शीतभण्डारमा सुन्तला उनले राखिसकेकी छन्। “अहिले फुटकरमा प्रतिकेजी रु ९० देखि सयमा सुन्तला बिक्री हुन्छ”, उनले भनिन्, “दुई महिनापछि शीतभण्डारबाट झिकेर सुन्तला बिक्री गर्दा प्रतिकेजी झण्डै रु दुई सय पर्छ।”

सुरुका वर्षमा सुन्तलाका बोट नै कम भएकाले उत्पादन थोरै भयो। आम्दानी पनि थोरै भयो। केही वर्षदेखि निरन्तर सुन्तला बिक्रीबाट रु २५ लाख आम्दानी हुँदै आएको अर्याल दाबी गर्छिन्। सुन्तलाका नयाँ बोट थपिएकाले आगामी वर्षबाट उत्पादन बढ्नेछ। अनि आम्दानी पनि स्वभाविक बढ्ने विश्वासमा उनी छिन्।

विसं २०४२ मा दुई सुन्तलाका बोट रोपेको सम्झना उनलाई छ। परीक्षणका लागि रोपेका बोटले केही वर्षपछि राम्रो उत्पादन दिन सुरु गरेपछि उनी व्यावसायिकरुपमा अगाडि बढेकी हुन्।

“सुरुमा रोपेका दुई वटा बोटबाट राम्रो उत्पादन भएपछि सुन्तलाको सम्भावना देखेर बर्सेनि बोट थप्दै सुन्तला बगैँचा विस्तार गर्दै गएँ”, उनले भनिन्, “अहिले सुन्तला बगैँचामा दुई हजार बढी सुन्तलाका बोट छन् जसमध्ये आधा बोटमा सुन्तला फलिरहेका छन्। आधा बोट नयाँ छन्।” अर्यालले अझै दुई सय नयाँ बोट लगाउन तयारी गर्नुभएको छ। कूल ३६ रोपनी क्षेत्रफलमा अहिले सुन्तला बगैँचा फैलिएको छ। रासस

प्रकाशित: Jan 07, 2023| 08:18 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।