काठमाडौं– सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थल प्रयोगका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बताए।
उक्त आयोजनाको प्रभावकारी व्यवस्थापन गर्ने र यसबाट मुलुकले यथेष्ट लाभान्वित हुने अवस्था सिर्जना गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको जनाउँदै उनले विमानस्थलको भरपुर प्रयोगका लागि गर्नुपर्ने काममध्येको महत्त्वपूर्ण काम भन्सार कार्यालय स्थापना गर्ने निर्णय भएको जानकारी दिए।
पोखरा विमानस्थल राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १७ पुसमा सो विमानस्थलको उद्घाटन गरेका थिए। चिनियाँ ऋण सहयोगमा उक्त विमानस्थल निर्माण गरिएको हो।
बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका उपप्रधानमन्त्री पौडेलले कोरोना महामारीका बाबजुद पनि पोखरा विमानस्थल समयमै निर्माण भएको बताए।
बैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि आगामी २५ माघमा निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ। राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशतर्फको राष्ट्रिय सभा सदस्यको पद रिक्त छ। उनी राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट निर्वाचित थिए।
सरकारले राष्ट्रिय सभाको उपनिर्वाचनको मिति तोकेर निर्वाचन आयोगलाई जानकारी गराएको प्रवक्ता पौडेलले बताए। बैठकले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा बाजुरामा मृत्यु भएका सञ्जीव ऐडी र चेतनदेव ऐडीका परिवारलाई आर्थिक सहायतास्वरुप जनही १० लाख दिने निर्णय गरेको छ।
बैठकले कम्बोडियामा एक क्यासिनोमा आगलागी हुँदा मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव नेपाल ल्याउन आवश्यक पहल गर्ने निर्णय गरेको छ। उनको शव नेपाल ल्याउन लाग्ने खर्च नेपाल सरकारले बहोर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए।प्रधानमन्त्री दाहालले बिहीबार मन्त्रिपरिषद् बैठक अघि पाण्डेका परिवारसँग छलफल गरी शव नेपाल ल्याउने पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।