बुटवल- पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा बिहीबार राति भएको बस दुर्घटनामा एकै वडाका ६ महिलाको निधन भएको छ।
रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर प्रस्थान गरेको ग १ ख ४९७७ नम्बरको बस राति साढे ९ बजे रैनादेवी छहरा ८ खुर्सानेमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा आमाछोरीसहित एकै गाउँका ६ महिलाको निधन भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाउनेमा ३३ वर्षीया निर्मला घिमिरे, उनकी छोरी ११ वर्षीया सुरुमा घिमिरे, ५४ वर्षीया खेमकुमारी राना, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनाकुमारी गाहा र २१ वर्षीया दानकुमारी खत्री रहेका छन्। मृतक सबै रैनादेवी छहरा–८ कै हुन्।
दुर्घटनामा १८ जना घाइते भएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले बताए। घाइतेहरूलाई उपचारका लागि बुटवल पठाइएको छ।
दुर्घटनामा परेको उक्त बस सडकबाट ५० मिटर तल अप्ठ्यारो भीरमा खसेको थियो। घाइतेहरूको पहिचान खुल्न सकेको छैन।