काठमाडौं– नाबालिग बलात्कार आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतको फैसला अस्वीकार गरी पाटन उच्च अदालतमा दिएको पुनरावेदनमाथिको सुनुवाइ स्थगित भएको छ।
जिल्ला अदालत काठमाडौंले मुद्दाको छिनोफानो नहुन्जेल लामिछानेलाई थुनामा पठाएर आवश्यक कागजात झिकाउन दुवै पक्षलाई आदेश दिएको थियो। सोही आदेशविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी वज्राचार्य र नरिश्वर भण्डारीको संयुक्त इजलासमा लामिछानेले दिएको पुनरावेदनमाथिको सुनुवाइ तोकिएको थियो। निवेदक लामिछानेका कानुन व्यवसायीबाट सुनुवाइ स्थगित भएको उच्च अदालत पाटनका शाखा अधिकृत एवं सूचना अधिकारी दिनेश पौडेलले जानकारी बताए।
उक्त मुद्दामा यसअघि दुई पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रोमा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो। सन्दीपले दिएको पुनरावेदनमाथि २८ पुसमा सुनुवाइ हुनेछ।