बुटवल- लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले दलहरुलाई आह्ववान गरेका छन् । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकारको मुख्यमन्त्री नियुक्त गर्न ७ दिनको समय दिएका हुन्।
‘प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ पुस २७ गते बुधबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आह्नान भएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ जना सांसद आवश्यक हुन्छ। प्रदेशमा हालसम्म कुन पार्टीले नेतृत्व गर्ने टुंगो लागेको छैन। प्रदेशसभामा एमालेका २९, माओवादीका ९, नागरिक उन्मुक्ति र राप्रपाका ४/४ एवम् जनमत र जसपाका ३/३ गरी ५२ जना सांसद पुग्छन्। स्वतन्त्रका एक जनाले पनि माओवादीमा फर्केको बताएका छन् ।