काठमाडौं– नेपाल प्रहरीले चलचित्रमा प्रहरीलाई नकारात्मक रूपमा चित्रण नगर्न चलचित्रकर्मीसँग आग्रह गरेको छ। बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित चलचित्रकर्मीसँगको छलफलमा प्रहरी प्रवक्ता टेकप्रसाद राईले प्रहरीको भूमिकालाई पर्दामा सकारात्मक रूपमा चित्रण गर्न आग्रह गरेका हुन्।
प्रहरीको प्रमुख दायित्व नागरिकको जिउधनको सुरक्षा गर्ने भएकाले प्रहरी राम्रो भए मात्र समाज राम्रो हुने बताउँदै नकारात्मक रूपमा प्रस्तुत गर्दा प्रहरी सेवाप्रति नागरिकको आकर्षण कम हुन सक्ने चिन्ता उनले व्यक्त गरे।
प्रवक्ता राईले कलाकार र चलचित्र क्षेत्रबीचको समन्वय र सहयोग आदान–प्रदानका लागि यो छलफल आयोजना गरिएकाले चलचित्र क्षेत्रलाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताए। प्रहरीले आयोजना गरेको चलचित्रकर्मी र विज्ञसँगको छलफलमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, निर्माता संघ अध्यक्ष नवल खड्कालगायत उपस्थित थिए।
चलचित्रमा सिर्जना र कथा मर्नु हुँदैन भन्नेतर्फ प्रहरी सजग रहेको प्रवक्ता राईको भनाइ छ। उनले भने, ‘तल्लो दर्जाका प्रहरी कार्यक्षेत्रका वास्तविक हिरो भएकाले तिनको कथावस्तुलाई चलचित्रले समेटून् भन्ने अपेक्षा हो।’
चलचित्रमा देखाइने प्रहरीको भूमिका, पक्राउ परेका व्यक्तिउपर कानुनसम्मत एवं मानवोचित व्यवहार चलचित्रले कसरी प्रस्तुत गरेको छ, चलचित्र छायांकनपूर्व प्रहरी प्रधान कार्यालयसँग समन्वय कसरी गर्ने, प्रहरीले निर्माण गरेका जनचेतनामूलक श्रव्यदृश्य सामग्री चलचित्र हलमा प्रसारण गर्ने पद्धतिको विकासलगायत विषयमा छलफल भएको थियो।
छलफलमा बोर्ड अध्यक्ष केसीले फिल्म छायांकनका क्रममा प्रहरीसँग सम्बन्धित हातहतियार, पोसाक, सवारीसाधन र छायांकन स्थलको प्रयोगलाई थप व्यवस्थित गर्न नेपाल प्रहरीसँग सहयोगको अपेक्षा गरे।
छायांकन र हलमा फिल्म रिलिज भएपछि मोबाइलबाट दृश्य खिचेर इन्टरनेटमार्फत प्रसारण गरिदिँदा निर्माताको करोडौं नोक्सान हुने गरेकामा चिन्ता व्यक्त गर्दै यसलाई नियमन गर्न प्रहरीको सहयोग जरुरी रहेको उनले औंल्याए। चलचित्रकर्मी–प्रहरीबीचको सम्बन्ध विकास एवं सहजीकरणबारेको छलफलमा पाइरेसी र साइबर सुरक्षा सम्बन्धमा व्यक्त चिन्ताप्रति लक्षित गर्दै प्रहरी प्रवक्ता राईले यस सम्बन्धमा साइबर ब्यूरोमार्फत प्रभावकारी रुपमा काम गर्न सकिने बताए।
छायांकनका क्रममा हुने ड्रोन प्रयोग अनिवार्यजस्तै भएकाले यसको प्रयोगमा सहजीकरण गर्न पनि बोर्ड अध्यक्ष केसीले प्रहरीलाई आग्रह गरे। प्रहरीको चरित्र देखाउँदा राष्ट्रकै प्रतिनिधित्व गर्ने भएकाले संवेदनशील भई फिल्म बनाउन उनले सुझाए।
निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र निर्माणका क्रममा नेपाल प्रहरीसँग सम्बन्धित दृश्य सुधार गर्न प्रयत्नरत रहेको बताउँदै यसका लागि प्रहरीका तर्फबाट समन्वय अधिकृत व्यवस्थापन गरिदिए थप सहज हुने उल्लेख गरे।
नेपाल प्रहरीसँग चलचित्र उद्योगको इतिहास जोडिएको चर्चा गर्दै आगामी दिनमा समेत पारस्परिक सहयोग आदान–प्रदान गर्न चलचित्र उद्योग तयार रहने प्रतिबद्धता अभिनेता तथा निर्देशक नीर शाहले व्यक्त गरे। केही संवेदनशील विषयमा निर्णय लिँदा त्यस क्षेत्रका विज्ञको आवश्यकता पर्ने उल्लेख गर्दै शाहले चलचित्रमा प्रहरीको चरित्र, प्रहरीसँग सम्बन्धित प्रसंग उल्लेख भएका संवेदनशील विषयमा सुधार गर्न चलचित्र सम्बद्ध व्यक्तिसँग निरन्तर रूपमा छलफल हुनुपर्ने आवश्यकता औंल्याए।
प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले चलचित्रमा देखाइने गरिएजस्तो प्रहरीले गर्ने क्रुर व्यवहारसँग सम्बन्धि दृश्य वास्तविक जीवनमा मानव अधिकारविरुद्धको कार्य भएकाले उक्त दृश्य देखाउनु सान्दर्भिक नहुने बताए। कार्यक्रममा सहभागीले चलचित्र निर्माणका बेला प्रहरीको सन्दर्भमा महसुस गरेका अप्ठेरा र त्यसको सहजीकरणका लागि नेपाल प्रहरीको भूमिकाबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए।