काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिका–३ दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीतभण्डार (कोल्डस्टोर) निर्माण थालिएको छ। शीतभण्डार सञ्चालनमा आएपछि नगर तथा आसपासका रोशी, तेमाल, महाभारत गाउँपालिका र सिन्धुलीका कृषकसमेत लाभान्वित हुनेछन्।
यसअघि अन्न भण्डारणकै लागि महँगो मूल्य तिरेर पाँचखाल, बनेपा, पनौतीसम्म पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो। उक्त शीतभण्डारका लागि नगरकै जलवायु अनुकूलन कार्यक्रममार्फत पहिलो चरणमा रु ८५ लाख विनियोजन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिए।
उनका अनुसार पहिलो चरणमा स्थानीय लागत सहभागितासमेत गरी ९९ लाख खर्च हुने भएको छ। उक्त लागतमध्ये १५ प्रतिशत स्थानीय उपभोक्ताले बेहोर्नेछन्।
कुल ८ करोड ३६ लाख ४६ हजार ९९९ लागत अनुमानमा तयार गरिने भण्डारणलाई बहुवर्षीय योजनामा समावेश गरेर पूरा गर्ने नगरले योजना बनाइएको हो। प्रतिच्याम्बर ३० मेट्रिक टनका दरले ६ च्याम्बरमा १८० मेट्रिक टन तरकारी, फलफूल र अन्न भण्डारण गर्न सकिने नगरपालिकाका इञ्जिनियर उज्ज्वल अर्यालले बताए।
शीतभण्डार मंगलबार नगरप्रमुख कुन्साङ लामाले शिलान्यास गरे। उनले पहिलो चरणमा निर्माण हुने एकतले भवन तीन महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिए। स्थानीय उपभोक्ता सीता दाहालले शीतभण्डार सुरु गरिएकामा खुसी व्यक्त गर्दै अब आलुलगायत तरकारीको बिउ राख्न खर्च गरेर अन्त जानै नपर्ने बताइन्।