काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। बुधबार नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारीसँगको भेटमा गृहमन्त्री लामिछानेले विगतमा उद्योगी व्यवसायीलाई जस्तो आँखाले हेरिए पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताएका हुन्।
गृह मन्त्रालय उद्योग व्यवसाय सुरक्षाका लागि हरहमेसा तयार रहने र त्यसका लागि छुट्टै युनिट खडा गरिने उनको भनाइ छ। युनिट खडा गरेसँगै उद्योगी व्यवसायी स–साना कामका लागि मन्त्रालय वा कार्यालय धाउनुपर्ने अवस्था अन्त्य हुने उनले दाबी गरे। ग्ृहमन्त्री लामिछानेले उद्योगी व्यवसायीले व्यापार वृद्धि गरी मुलुकको राजस्व बढाउनेतिर ध्यान दिनुपर्नेमा जोड दिए।
सरकारको नीतिगत विषयमा समस्या आए उनले उद्योगी व्यवसायीलाई सुझाव दिन उनको आग्रह छ। गृहमन्त्री लामिछानेले उद्योगी व्यवसायीले पैसा कमाउनुलाई अपराध गर्नुजस्तो व्याख्या गर्ने अवस्था अन्त्य गर्ने उद्घोष गरे। उद्योग व्यवसाय बढ्दै जाँदा मुलुकभित्र रोजगारी सिर्जना हुने हुँदा सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राख्ने उनले जानकारी दिए।
गृहमन्त्री लामिछानेले भने, ‘कानुनभन्दा बाहिर रहेर काम गर्नेको संख्या ठूलो छ। फोहोर सफा गर्न समय लाग्छ। फोहोरको चाङ सफा गर्दा बढी दुर्गन्ध आउन सक्ने हुँदा त्यसका लागि उद्योगी व्यवसायीले दुर्गन्ध सहन तयार हुनुपर्छ। यसमा कसैलाई जोगाउने र कसैलाई फसाउने भन्ने हुँदैन।