काठमाडौं– बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरी देशको अर्थतन्त्रबारे छलफल गरेपछि केन्द्रीय बैंकले आजै अपराह्न तीन बजे पत्रकार सम्मेलन गर्ने भएको छ।
विशेषगरी प्रधानमन्त्री प्रचण्डसँग नेपालको अर्थतन्त्र, उद्योगी व्यवसायीका माग र समस्या समाधानका विषयमा छलफल गरिएको बताइए पनि चालु पुँजी कर्जा कार्यविधि स्थगनको बारेमा गम्भीर छलफल भएको थियो।
प्रधानमन्त्री प्रचण्डले चालू पुँजी कर्जा स्थगनको लागि नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीसँग आग्रह गरेको बताइएको छ। हरेकजसो सार्वजनिक कार्यक्रममा चालू पुँजी कर्जा मार्गदर्शन राम्रो भएको र यसले देशको अर्थतन्त्रमा सकारात्मक असर गर्ने दाबी गर्दै आएका गभर्नर अधिकारीले आज यसकै विषयमा पत्रकार सम्मेलन गर्न लागेको राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले जानकारी दिएका छन्।
उनले भने, ‘हामी त अझै पनि कार्यान्वयनका क्रममा देखिएको समस्याहरुको मात्र समाधानका लागि केही बुँदाहरु परिवर्तन गरौं भन्ने पक्षमा अडिग छौं। यो स्थगन गर्न हुँदैन भनिरहेका छौ। तर गभर्नरलाई प्रधानमन्त्री र अर्थमन्त्रीले के भन्नु भएको छ । त्यसको बारेमा ३ बजेको पत्रकार सम्मेलनमा थाहा पाइहाल्नु हुनेछ।’
गभर्नर अधिकारीले चालू पुँजी कर्जाको विषयमा दबाब थेग्न नसकेको आकलन धेरैले गरेका छन्।