बिहीबार, साउन २३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई स्वच्छ खानेपानी घर-घरमा पुर्‍याइने

तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई स्वच्छ खानेपानी घर-घरमा पुर्‍याइने

पाइपलाइन विस्तार तथा धारा जडानका काम भइरहेकाले अबको तीन महिनापछि घरघरमा खानेपानी पुर्‍याइने उपभोक्ता समतिले जनाएको छ।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

काभ्रेपलाञ्चोक- आउँदो चैत महिनाभित्र जिल्लाको तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई स्वच्छ खानेपानी घरघरमा पुर्‍याइने भएको छ। गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउन सकिएको थिएन।  

कोरोनाको पहिलो र दोस्रो लहरका कारण  तेमाल बृहत् खानेपानी आयोजनामा असर पुग्नका साथै गत साउनमा सुनकोसी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुर्‍याउँदा उक्त आयोजना करिब एक वर्ष पछि धकेलिएको थियो। हाल पाइपलाइन विस्तार तथा धारा जडानका काम भइरहेकाले अबको तीन महिनापछि घरघरमा खानेपानी पुर्‍याइने उपभोक्ता समतिले जनाएको छ। ‘आउँदो चैत महिनाभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको छ’, समितिका अध्यक्ष सङ्ग्रामजित लामाले भने।

उनले आयोजनाको करिब ९८ प्रतिशत काम सकिएको र हाल मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको बताए। अध्यक्ष लामाका अनुसार २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको र  मेनलाइन तथा शाखा लाइनमा  पाइप बिछ्‌याएर घरघरमा धाराका लागि सामग्री वितरण भइरहेको छ। 

प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको जनाइएको छ। हाल तेमाल गाउँपालिका-१ सस्यूखर्क र आधावाट, वडा नं ७ को चापखोरी, वाडा नं ५ को याङ्वेल तथा नमोबुद्ध नगरपालिका-५ कोटतेमाल र कालीमाटीका करिब नौ सय घरमा खानेपानी पुर्‍याइएको उनले जानकारी दिए। तेमाल क्षेत्रका नौ हजार तीन सय १० परिवारका करिब ५५ हजार बासिन्दाका  लागि उक्त आयोजना सञ्चालन गरिएको हो। 

पाइपको मेनलाइनअन्तर्गत ५० किलोमिटर पाइप उपभोक्ताले खाल्डो खनेर बिछ्याउनुपर्ने सम्झौता गरिएकामा  सोही अनुसार ३१ किमी पाइप बिछ्याइएको छ। यसैगरी रोशी गाउँपालिका-७ कटुञ्जेस्थित एक सय १० घरपरिवारका लागि एक महिनाभित्रै उक्त आयोजनाको खानेपानी वितरणका लागि याङ्बेल डाँडामा आयोजनाको चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ।

आयोजनाको छुट भएका केही निर्माणको काम गर्न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट हालै १० करोड ३४ लाख ४१ हजार उपलब्ध गराइएको छ। उक्त आयोजनाका लागि पाँच करोड बराबरको जनश्रमदान भएको अध्यक्ष लामाले बताए। 

आयोजना सम्पन्न भएपछि तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई खानेपानी उपलब्ध हुनेछ। लिफ्टिङ प्रविधिको तेमाल खानेपानीको मुहान सुनकोसी नदी किनारमा छ। गत वर्षको पहिलो बाढीले उक्त खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोसी नदीकिनार चुखाबेंसीमा गत साउन १७ र १९ गते आएको  बाढीले क्षति पुर्‍याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कीमा क्षति हुन नदिन सुरक्षित गरिएको छ। बाढीले त्यतिबेला आयोजनाको रु ६० लाखभन्दा बढी पूर्वाधारमा क्षति पुर्‍याएको थियो भने करोडौँको संरचनामा  जोखिम हुने स्थितिमा पुर्‍याएको थियो। 

तेमाल क्षेत्रअन्तर्गत उक्त गाउँपालिकाको नौवटा वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको सात नं वडाका बासिन्दाले सो खानेपानी उपभोग गर्न पाउने भएका हुन्। विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम गत साल मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि कोरोना महामारीका कारण काममा निरन्तरता नहुँदा तथा बाढीले संरचनामा क्षति पुर्‍याउँदा केही पछि धकेलिएको थियो। अध्यक्ष लामाका अनुसार हाल खानेपानी वितरणको पाइपलाइन बिछ्याइने कार्यसमेत अन्तिम चरणमा पुगेको छ। 

खानेपानी विभागले उपलब्ध गराएको एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताको  नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोसी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराउन  संरचना बनिसकेका छन्।  -रासस

प्रकाशित: Jan 03, 2023| 19:30 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।