काठमाडौं– राहदानी लिनका लागि भीड बढिरहँदा परराष्ट्र मन्त्रालयले भने वितरणको काम नै बन्द गरेको छ। पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा समस्या आएको भन्दै राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको हो।
राहदानी विभागले यस्तो समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रूपमा सञ्चालन हुन केही समय लाग्ने बताएको छ। विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजको मितिदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि माथि उल्लेखित सेवा लिनको लागि विभागमा उपस्थित नभइदिनु हुन सादर अनुरोध छ। यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति राहदानी विभाग क्षमाप्रार्थी छ।’
साथै, नियमित रूपमा राहदानी आवेदनका लागि ‘अप्वाइन्टमेन्ट डेट’ बुक गरेका सेवाग्राहीलाई बुक गरेको मितिमा बायोमेट्रिकका लागि विभागमा उपस्थित हुन पनि विभागले आग्रह गरेको छ। पछिल्लो समय राहदानीका लागि फारम बुझाउने र राहदानी लिनका लागि विभागमा सेवाग्राहीको भीड अत्यधिक बढिरहँदा विभागको सिस्टममा समस्या देखिएको हो। जनगुनासो बढेपछि गृहमन्त्री रवि लामिछानेले केही दिनअघि विभागको कार्यालयमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए।