लुम्बिनी प्रदेशको पहिलो कार्यकालमा स्थायी राजधानी कार्यान्वयनलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माका अनुसार स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ)मा तोक्नुका साथै सोही स्थानबाट काम सुरु गर्नु नै पाँच वर्षे कार्यकालको मुख्य उपलब्धि हो।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीबाट सञ्चालनमा आएको छ भने अन्य मन्त्रालयका लागि संरचना खोजीको काम भइरहेको छ। त्यस्तै प्रदेशसभा पनि देउखुरीमै निर्माण भएको नयाँ भवनबाट सञ्चालन थालिएको छ। अघिल्लो कार्यकालको यो उपलब्धि हो। 'हामीले आफ्नै प्रदेशसभा भवन निर्माण गर्यौं। मुख्यमन्त्री कार्यालय पनि आयो, अन्य मन्त्रालय पनि अब आउँदैछन्,' शर्माले भने।
साथै प्रदेशसभाको पहिलो कार्यकालमा ७२ विधेयक पारित भई ऐनका रूपमा प्रमाणीकरण भएका छन् भने सरकारले ३० नियमावली पारित गरी कार्यान्वयन गरिरहेको छ। साथै विकास निर्माणका हिसाबले पनि प्रदेशमा फड्को मारिएको प्रवक्ता शर्माले बताए। उनका अनुसार पाँच वर्षमा सात सय ४९ किलोमिटर सडक कालोपत्र भएको छ भने नौ सय ८८ किलोमिटर सडक ग्राभेल तथा चार सय ३५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ। त्यस्तै ७४ वटा सडक पुल र २३ वटा झोलुङ्गे पुल निर्माण भएका छन्।
उनका अनुसार तीन हजार दुई सय ९८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याइएको, छ सय आठवटा स्याले ट्युबेल, एक हजार आठ सय पाँच वटा सिँचाइ कुलो निर्माण गरिएको छ। त्यस्तै एक सय २२ किलोमिटर लम्बाइमा नदी नियन्त्रणको कार्य भएको छ। यसबाट दुई हजार एक सय १५ हेक्टर जमिन नदीबाट उकास भएको छ।
प्रदेश सरकारले ११ हजार एक सय ४७ वटा लिफ्ट खानेपानी आयोजना र एक हजार दुई सय ३१ वटा खानेपानीका आरसिसी ट्याङ्की निर्माण गरेको छ। त्यस्तै एक हजार सात सय १७ किलोमिटर ट्रान्समिसन पाइप लाइन जडान भएको, चार हजार आठ सय ७२ किलोमिटर डिस्ट्रिब्युसन पाइप जडान भएको छ। प्रदेश सरकारले सात हजार एक सय ६१ कमैया, मुस्लिम र दलित छात्रालाई छात्रबृत्ति, तीन हजार आठ सय ८७ विज्ञान विषय अध्ययनरत छात्रालाई छात्रबृत्ति प्रदान गरेको जनाएको छ।
तत्कालीन जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिको उपचारको व्यवस्था गर्नुका साथै मुटु, मिर्गौला र क्यान्सरपीडित विपन्न नागरिकको उपचारका लागि रु दुई लाख दिने कार्यक्रमबाट छ सयभन्दा बढी नागरिक लाभान्वित भएका छन्।
त्यस्तै चारवटा यातायात सेवा कार्यालय स्थापना गरी सेवाप्रवाह गरिरहेको, चार स्थनमा सवारी यात्रु र चलकका लागि रिफ्रेस सेन्टरको निर्माण गरेको, कृषिलाई आधुनिकीकरण गर्नका लागि एक सय नौवटा कृषि स्मार्ट गाउँको निर्माण गरिएको, १९ वटा शीतभण्डार, १९ वटा खाद्यान्न भण्डार, १० वटा बीउ भण्डारणगृह निर्माण गरिएको छ। प्रदेश सरकारले गौरवका आयोजनाका रूपमा अघि सारेको लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँकेमा स्थापना भई सञ्चालनको तयारीमा रहेको छ।
-रासस