शनिबार, असार २१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेपछि प्रधानमन्त्रीले भने- निजगढको काम पनि छिटै सुरु गर्छौं

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेपछि प्रधानमन्त्रीले भने- निजगढको काम पनि छिटै सुरु गर्छौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताएका छन्।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन गर्दै उनले नेपालजस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाई मार्ग नै सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको बताए।

‘मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको छ,’ प्रचण्डले भने, ‘यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ।’ प्रधानमन्त्री दाहालले पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ राजदूतावासमार्फत तथा चिनियाँ राष्ट्रपति सी चिनपिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको बताए। 

प्रधानमन्त्री दाहालले चीनसँगको सीमा नाका खुलाइ सहज बनाउने तथा रेलसेवालगायतका परियोजना निर्माणमा सहयोग गर्नसमेत चीन सरकारसमक्ष आग्रह गरे। उनले पोखरा विमानस्थल सञ्चालनमा आएपछि गण्डकी प्रदेशसँगै सिंगो राष्ट्रको आर्थिक विकास हुनेमा दुई मत नरहेको उल्लेख गरे। ‘म गण्डकी प्रदेशबाट निर्वाचित भई प्रधानमन्त्री बनेको छु, यहाँका जनताले मलाई तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सेवा गर्ने अवसर दिनुभएको छ, यसका लागि धन्यवाद दिन चाहन्छु,’ उनले भने।

सामाजिक न्याय, सुशासन र जनताको समृद्धिको मूल मन्त्र बनाई आफू नेतृत्वको सरकारले काम गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो। ‘मैले यसअघि लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरें, अब आर्थिक विकास, समृद्धि तथा सुशासन प्रवर्द्धन गर्दै देशलाई विकासको गतिमा अघि बढाउने छु,’ उनले भने।

प्रकाशित: Jan 01, 2023| 15:50 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्