काठमाडौं– पछिल्लो समय सहकारी संस्थाहरुले घरजग्गा, गाडी तथा अनुत्पादक क्षेत्रमा लगानी बढाउँदा समस्या आएको सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले बताएका छन्।
शनिबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १२औं वार्षिक साधारणसभा अवसरमा उनले सहकारीको पैसा अनुत्पादक क्षेत्रमा गएको र उक्त लगानी फिर्ता नहुँदा अहिले समस्या देखिएको बताएका हुन्।
सहकारी अभियानले खराब कर्जा लगानी उठाउनतर्फ पहल नगरेको उनको भनाइ छ। सहकारीको खास समस्या पहिचान भइसकेको बताउँदै पण्डितले भने, ‘हामी आफैं त्यसको भुक्तभोगी छौं र पनि समस्या समाधानतर्फ किन लाग्दैनौं?’।
अभियानले नै सदस्यको बचत रकम एक पटकमा ५ प्रतिशत बढी फिर्ता नगर्नु भनेपछि समस्या बढेको उनको दाबी छ। विभागले सहकारीको वास्तविक तथ्यांक राख्न नसकेको र माघपछि वास्तविक तथ्यांक आउने गरी काम गरिरहेको उनले बताए।
कार्यक्रममा सहकारी बैंक अध्यक्ष केबीप्रसाद उप्रेतीले राज्य, बैंक तथा वित्तीय संस्थाका कारण सहकारीमा अहिलेको अवस्था आएको सुनाए।