काठमाडौं– अंग्रेजी नयाँ वर्ष २०२३ मनाउन यतिबेला पोखराका होटलमा आन्तरिक तथा विदेशी पर्यटक भरिभराउ भएका छन्। नयाँ वर्ष र सडक महोत्सवका कारण पोखराका होटलमा पर्यटक भरिएका हुन्।
अंग्रेजी नयाँ वर्ष मनाउन आन्तरिक तथा बाह्य पर्यटक पोखरामा गएपछि त्यहाँका होटल भरिएका हुन्। नयाँ वर्षको स्वागतार्थ रेस्टुराँ एन्ड बार एसोसिएसन (रेबान) ले पोखरा सडक महोत्सव आयोजना गरेको छ। रेबानले १३ देखि १७ पुससम्म महोत्सव आयोजन गरेको हो।
नयाँ वर्ष र सडक महोत्वस भएको कारणले पनि पोखरा पर्यटक धेरै आउने गरेका छन्। अहिले सानादेखि ठूलासम्म अधिकांस होटल भरिएका छन्।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी पोखरामा नयाँ वर्ष र सडक महोत्सव भएकाले पनि पर्यटक बढेको बताउँछन्। उनले भने, ‘पोखराका होटलमा ४० हजार बेड संख्या रहेको छ। ठूला होटल धेरै बुक भइसके भने साना होटल पनि थोरै मात्रै बुक हुन बाँकी छन्। नयाँ वर्ष र सडक महोत्सव भएकाले अघिल्लो वर्षभन्दा धेरै पर्यटक आउने अनुमान छ। पाँच लाख पर्यटक आउने अनुमान गरेका छौं।’ पोखरामा अहिले लेकसाइडका होटलमा सबैभन्दा धेरै चाप रहेको सुवेदीले बताए।