काठमाडौं– पर्यटकीय सहर पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन आगामी १७ पुसमा गरिने भएको छ। अंग्रेजी नयाँ वर्षको पहिलो दिनदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विधिवत सञ्चालनमा ल्याउन लागिएको हो। नागरिक उड्डयन कार्यालयका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन्।
कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेता, उद्योगी तथा पर्यटन व्यवसायी सहभागी हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले बताए। उनका अनुसार विमानस्थल उद्घाटनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यमा विमानस्थल उद्घाटन कार्यक्रमको अन्तिम तयारीमा छौं। नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन संघ–संस्थाको सहभागितामा उद्घाटन समारोह विशेष हुनेछ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार उद्घाटनका दिन बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिनेछ।
विमानस्थलका परिकल्पनाकार शंकरराज पाठकलगायतलाई रथारोहणसहित अभिनन्दन गरिनेछ। विमानस्थल उद्घाटनका दिनदेखि नै सबै आन्तरिक उडान सोही विमानस्थलबाट हुनेछन्। निजी विमान कम्पनीले नयाँ विमानस्थलबाट उडान सुरु गर्न कार्यालय व्यवस्थापनलगायत तयारी सकेका छन्। बुद्ध, यति र सौर्य एयरले परीक्षण उडानसमेत सम्पन्न गरेका छन्।
चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो। २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि २०७३ मा विमानस्थल शिलान्यास गरिएकामा २०७४ देखि निर्माण सुरु भएको हो।