शनिबार, असार २१, २०८२

यो वर्ष धान उत्पादनमा सात प्रतिशतले वृद्धि

यो वर्ष धान उत्पादन ६.९४ प्रतिशत बढेर ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको मन्त्रालयले विवरण सार्वजनिक गरेको हो।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

काठमाडौं– यो वर्ष धान उत्पादन झन्डै ७ प्रतिशतले बढेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विवरण सार्वजनिक गरेको छ।

यो वर्ष धान उत्पादन ६.९४ प्रतिशत बढेर ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको मन्त्रालयले विवरण सार्वजनिक गरेको हो। 

यो वर्ष धान उत्पादन बढे पनि धान खेती गरिएको क्षेत्र २ प्रतिशतले घटेर १४ लाख ४ हजार ७८९ हेक्टर रहेको मन्त्रालयले बताएको छ। गत वर्ष धान थन्क्याउने बेला आएको बेमौसमी वर्षाका कारण ८.७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । 

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले यो वर्ष धान उत्पादन ७ प्रतिशतको हाराहारी बढेको बताए। तराईका जिल्लामा रासायनिक मल उपलब्ध हुनु, उन्नत र हाइब्रिड बिउ प्रयोगमा भएको वृद्धि, मौसम अनुकूल हुनु तथा स्थानीय तहसम्म कृषि प्राविधिकको पहुँच वृद्धि भएकाले उत्पादनमा बढेको उनको भनाइ छ।

गत वर्षको तुलनामा यो वर्ष सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ३३.९७ प्रतिशतले धान उत्पादन बढेको छ। गत वर्ष बेमौसमी वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा उल्लेख्य क्षति भई उत्पादनमा कमी आएको थियो। यस वर्ष सामान्यीकरण हुँदा उल्लेख्य वृद्धि भएको मन्त्रालयले बताएको छ। 

मन्त्रालयका अनुसार यो वर्ष लुम्बिनी प्रदेशमा १५.७२ प्रतिशत र प्रदेश १ मा ५.६० प्रतिशतले धान उत्पादन बढेको छ।

यस्तै, कर्णाली प्रदेशमा ३.४६ प्रतिशत, मधेसमा १.६१ प्रतिशत, बागमतीमा १.२२ प्रतिशत धान उत्पादन बढेको छ भने गण्डकी प्रदेशमा २.६४ प्रतिशतले उत्पादनमा कमी आएको छ।

यो वर्ष सबैभन्दा धेरै मधेस प्रदेश, प्रदेश १ र सुदूरपश्चिमा धान उत्पादन बढेको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा १३ लाख ३६ हजार मेट्रिक टन धान उत्पादन भएको छ। यस्तै, मधेस प्रदेशमा १३ लाख ८८ हजार ८४१ मेट्रिक टन उत्पादन भएको मन्त्रालयले जनाएको छ। लुम्बिनी प्रदेशमा ११ लाख ५१ हजार ३१३ मेट्रिक टन, सुदूरपश्चिममा ५ लाख ८९ हजार २२१ मेट्रिक टन, बागमती प्रदेशमा ५ लाख ४४६ मेट्रिक टन, गण्डकी प्रदेशमा ३ लाख ९१ हजार १२१ मेट्रिक टन र सबैभन्दा कम कर्णाली प्रदेशमा १ लाख २९ हजार ४७३ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको विवरणमा उल्लेख छ।  

आव २०७८÷७९ मा १४ लाख ७७ हजार ३७८ हेक्टरमा धान रोपाइँ भएकामा धान उत्पादन अघिल्लो वर्षको तुलनामा ८.७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार मेट्रिक टन भएको थियो। गत वर्ष ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको थियो।

केन्द्रीय तथ्यांक विभागका अनुसार २०७८÷७९ मा कुल गार्हस्थ उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान २३.९५ प्रतिशत रहेको छ। कृषिको वृद्धिदर २.२४ प्रतिशत हुने प्रक्षेपण छ। 

प्रकाशित: Dec 30, 2022| 11:11 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्