काठमाडौं- काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्बासीलाई हटाउन गृह मन्त्रालयसँग आग्रह गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बुधबार गृह मन्त्रालयलाई पत्र पठाएर समन्वय गर्न अनुरोध गरेका हुन्। यसअघि बिनातयारी बस्ती खाली गर्न पुग्दा महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना घाइते भएका थिए।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई बोधार्थ गरिएको उक्त पत्रमा भनिएको छ, ‘अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ । जसको लागि त्यहाँमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय गरिदिन हुन अनुरोध गरिन्छ ।’
बागमती सभ्यता एकीकृत विकास परियोजनाको अनुरोधमा त्यहाँको बस्ती हटाउन प्रयास गरिए पनि सफल नभएको पत्रमा उल्लेख छ। यसअघि महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाएको भए पनि सफल हुन नसकेको अवस्थामा तत्काल पहल गरिदिन अनुरोध महानगरको अनुरोध छ।
कामपाका प्रहरी प्रमुख पाण्डेले वस्ती हटाउन गृह मन्त्रालयलाई आग्रह गरेको जानकारी दिए। यसअघि स्थानीयले बस्ती हटाउन आग्रह गर्दै गृह सचिव विनोद सिंहलाई ज्ञापनपत्र बुझाएका थिए।
अनधिकृत बस्ती हटाएर सौन्दर्यीकरणको काम तत्काल सुरू गर्नुपर्ने भएकाले संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि गृह मन्त्रालयको सहयोगका लागि पत्राचार गरिएको कामपको भनाइ छ।