काठमाडौं– बैंकहरूले नियमविपरीत प्रिमियम दर थपेर ऋणीबाट उठाएको रकम धमाधम फिर्ता गर्न थालेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म २५ वटा वाणिज्य बैंकले ४ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी उठाइएको प्रिमियम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। प्रतिबद्धता जनाएका बैंकमा सरकारी स्वामित्वका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले समेत ऋणीबाट बढी प्रिमियम लिएका छन्।
कृषि विकास बैंकले मात्र आफ्ना ऋणीबाट थप प्रिमियम नलिएको पाइएको छ। राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी प्रिमियम लिएर फिर्ता गर्नुपर्ने अवस्थामा एनआईसी एसिया बैंक रहेको छ। सो बैंकले ४८ करोड रुपैयाँ बढी प्रिमियम लिएबापत फिर्ता दिनुपर्ने भएको छ।गत आर्थिक वर्षमा सो बैंकको नाफा सबैभन्दा धेरै ४ अर्ब ५२ करोड रुपैयाँ थियो। बैंकले लिएको प्रिमियम फर्काएपछि उसको नाफा जम्मा ४ अर्ब ४ करोड रुपैयाँमात्र हुनेछ।
त्यस्तै, राष्ट्र बैंकले पुँजीकोष नपुर्याएको भन्दै लाभांश दिन रोक लगाएपछि अहिले एनआईसी एसिया दोहोरो मारमा परेको छ। एकातिर नियमविपरीत उठाएको प्रिमियम फिर्ता र अर्कोतर्फ लगानीकर्तालाई लाभांशमा रोक लगाएपछि एनआईसी एसिया दोहोरो मारमा परेको हो।दोस्रो सबैभन्दा बढी नियमविपरीत उठाएको प्रिमियम फिर्ता दिने बैंकमा नबिल बैंक रहेको छ। सो बैंकले नियमविपरीत ४७ करोड रुपैयाँ फिर्ता दिने राष्ट्र बैंकसँग प्रतिबद्धता जनाएको छ। नबिल बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएको थियो। सबैभन्दा बढी नेपाल एसबिआई बैंकले फिर्ता गर्नुपर्नेछ।
सो बैंकले जम्मा ६ करोड रुपैयाँ थपिएको प्रिमियम फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार बैंकहरूले ४ अर्ब ६६ करोड रुपैयाँ फिर्ता दिने प्रतिबद्धता जनाएका छन्। त्यसमध्ये डेढ अर्ब रुपैयाँ फिर्ता बुझाइसकेका छन्।ऋण लिँदा नै बैंकहरूले आधार दरमा कति प्रतिशत बढीसम्म प्रिमियम लिने भनेर फिक्स गरिसकेका हुन्छन्, जुन प्रिमियम ऋणीले तिर्ने अवधिभर परिवर्तन गर्न पाउँदैनन्। यदि आधार दर बढेमा भने सोहीअनुसारको ब्याज बढ्छ। तर आधार दर त्रैमासिकमा मात्र लागतको आधारमा बढ्छ।
तरलता अभावको कारण देखाउँदै उनीहरूले ऋणीलाई थप प्रिमियम लिने गरेको पाएपछि राष्ट्र बैंकले थपेर लिएको प्रिमियम फिर्ता गर्न दबाब दिएको थियो। सोही दबाबनुसार उनीहरूले रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएका थिए भने फिर्ता गरिरहेका पनि छन्।
हेर्नुस् कुन बैंकले कति रुपैयाँ फिर्ता गरे बैंकको नामथपिएको व्याज फिर्ता रकम?