काठमाडौं– नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्स रोक्नका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासमा परेको रिट खारेज भएको छ। बुधबार न्यायाधिश हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको पूर्ण इजलासले सो रिट खारेज गरेको हो।
रिट खारेजीसँगै नेपाल धितोपत्र बोर्डले अब नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्स दिन पाउने भएको छ। नेपाल धितोपत्र बोर्डविरुद्ध अधिवक्ता अमृत खरेलले नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न संवैधानिक इजलासमा मुद्दा दायर गरेका थिए।
यसअघि सर्वोच्च अदालतले नयाँ ब्रोकर लाइसेन्स, कमोडिटी तथा स्टक एक्सचेन्जको लाइसेन्स प्रकृया रोक्न २ पटक अन्तरिम आदेश जारी गरेको थियो। धितोपत्र बोर्डले खुला लाइसेन्स प्रणाली अनुरुप ब्रोकरका लागि छुट्टै कार्यविधि जारी गरेको थियो। सोहि अनुसार बोर्डले नयाँ लाइसेन्सका लागि निवेदन आह्वान गर्दा ४२ वटाको आवेदन परेको थियो।
बोर्डले गत असोज २ गतेबाट नयाँ लाइसेन्सका लागि आवेदन खुला गरेको थियो। बोर्डलाई नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।