कालीकोट- कालीकोटमा बिरुवा बिक्री नहुँदा नर्सरी व्यवसायी संकटमा परेका छन्। स्थानीय रूपमा उत्पादन गरिएका नगदे बालीका बिरुवा बिक्री नहुँदा उनीहरू समस्यामा परेका हुन्। जिल्लामा उत्पादन गरिएका स्याउ, सुन्तला, अनार, कुरिल्लो, ओखर, कागती, अनार, सितलचिनी र लौठ लगायतका बिरुवा बिक्री भएका छैनन्।
नर्सरीमा उत्पादन गरिएका बिरुवा बिक्री नहुँदा आफू मर्कामा परेको पचालझरना गाउँपालिका–६ तुडिखेतमा रहेको केपियर्स नर्सरी फार्मका सञ्चालक कर्णप्रसाद चौलागाईंले बताए। उनले आफूले नर्सरीमा कुरिलो १ हजार ५००, अनार ७ हजार, ओखर १ हजार ३००, महिरपख्खी ३ हजार २००, लौठ ४ हजार ३००, सल्लोका ५ हजार ३००, शीतलचिनीका ५००, टिमुर १००, कागतीका २ हजार २ बिरुवा बिक्री नभएको जानकारी दिए।
‘विक्रम संवत् २०७४ सालमा स्थापना गरिएको नर्सरीमा रहेका बिरुवा बिक्री नहुँदा समस्या उत्पन्न भएको छ,’ उनले भने, ‘हरेक वर्ष यहाँका पालिकाले बिरुवा खरिद गरी वृक्षरोपण गर्ने गरेका छन् तर स्थानीय नर्सरी बिरुवा खरिद नगरी बाहिरबाट बिरुवा ल्याउने गरेका छन्।’
जिल्लाको हावापानीमा सुहाउँदो बिरुवा नर्सरीमा उत्पादन हुने गरेको तर यहाँका बिरुवा बिक्री हुन नसकेको आफूहरूले बर्सेनि घाटा व्यहोर्नुपरेको तिलागुफा नगरपालिका–१ का नर्सरी व्यवसायी रामबहादुर बुढाले बताए। ‘हामीले उत्पादन गरेका बिरुवा बिक्री हुन छाडेका कारणले समस्या भएको छ,’ उनले भने, ‘स्थानीय सरकार तथा अन्य निकायले स्थानीय नर्सरीमा उत्पादन भएको बिरुवा खरिद गरेर नर्सरी व्यवसायीलाई प्रोत्साहन गर्नुपर्छ।’
माटो सुहाउँदो स्थानीय बालीनालीको आवश्यकता अनुसार बिरुवा उत्पादन हुने गरेको नरहरिनाथ गाउँपालिका–७ का रामबहादुर बटालाले बताए। ‘स्थानीय उत्पादनलाई प्रोत्साहन सरकारी नीति रहेको छ,’ उनले भने, ‘तर यहाँ उत्पादन गरिएका बिरुवा बिक्री नहुने र बाहिर जिल्लाबाट बिरुवा खरिद गर्ने गरिएको छ।’